१५ बैशाख २०८१, शनिबार
Follow Us

समाजसेवामा रमाउँदै प्रवासका महिला

नेपालब्रिटेन संवाददाता
३ माघ २०७६, शुक्रबार ०८:२८

लिस्बन । काठमाडौंकी सुशीला थापा १० वर्षदेखि पोर्चुगलमा हुनुहुन्छ । उहाँ रोजगारीका सिलसिलामा नेपाली भूमि छाडेर विदेशिनुभएको हो । विदेश बसाइका क्रममा नेपालीले भोगेको समस्याप्रति थापा जानकार हुनुहुन्छ । नेपाली दाजुभाइ तथा दिदीबहिनीको समस्या समाधान गर्न थापाले आफ्नातर्फबाट सक्दो काम गर्नुभएको छ । प्रवासमा रहेर पनि थापाले विभिन्न सङ्घसंस्थामा सक्रिय भई काम गर्दै आउनुभएको छ । “प्रवासमा समस्यामा परेका नेपालीलाई सकेको सहयोग गर्न पाउँदा निकै खुशी छु”, थापा भन्नुहुन्छ, “तर नेपाली समाजबाट सहयोग भने छैन ।”

पोर्चुगलमा रहेर प्रवासी नेपाली एकता मञ्च, नेपाली नारी समाज, गैरआवासीय नेपाली सङ्घ, नेपाली महिला समाजलगायत धेरै सङ्द्दसंस्थामा काम गर्नुभएका थापा समाजमा निःस्वार्थ काम गर्दा समाजले हेर्ने दृष्टिकोण भने फरक रहेको बताउनुहुन्छ । “मैले प्रवासमा रहेर पनि सकेको सहयोग गरेको छु”, उहाँले भन्नुभयो, “महिलाले गरेको समाजसेवा पुरुषको नजरमा अलिक कमजोर चाहिँ हुने रहेछ । तैपनि म आफ्नो कामप्रति दृढ छु ।” अस्थायी र स्थायी बसोबासका लागि धेरै नेपाली महिला विभिन्न देशबाट पोर्चुगल आउने गर्छन् । भाषा, सीप र क्षमता अभावकै कारण धेरै नेपाली समस्यामा पर्ने गरेको थापा बताउनुहुन् छ । “महिला होस् या पुरुष, समस्यामा परेका सबै नेपालीलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो”, उहाँले भन्नुभयो, “पुरुषकै कारण नेतृत्व तहमा नपुगे पनि उनीहरुसरह समाजसेवामा भने तल्लीन छौंँ ।”

अहिले पोर्चुगलमा सुशीला मात्रै होइन, अन्य महिला पनि आफ्नो कामसँगै समाजसेवामा सक्रिय छन् । दुई वर्षदेखि पोर्चुगलमा रहनुभएका सीता श्रेष्ठले पनि नेपाली दाजुभाइ तथा दिदीबहिनीको समस्यामा साथ दिँदै आउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका महिला उपाध्यक्ष एवं नारी समाजमा रहेर काम गर्नुभएका श्रेष्ठ समाजसेवा गर्दा अपजस बढी आउने गरेको अनुभव सुनाउनुहुन्छ । उहाँले दुव्र्यसनमा परेका एवं सडकमा पुगेका नेपालीको उद्धार, रोजगारमा लगाइदिने जस्ता काम गर्दै आउनुभएको छ । प्रवासमा सबैभन्दा धेरै महिलाको समस्या रहेको श्रेष्ठ बताउनुहुन्छ । “नेपालमा जस्तै प्रवासमा पनि महिलाहरु शारीरिक, मानसिक र आर्थिक समस्याबाट पीडित भएका छन्”, उहाँले भन्नुभयो, ‘पुरुषप्रधान समाजमा हुर्केका हामी नेपालीको सोचाइमा परिवर्तन आउन आवश्यक छ । ” श्रेष्ठका नजरमा प्रवासमा जति समाजसेवा गरे पनि नेपाली समाजले महिलाको कामप्रति सधैंँ प्र्रश्न गर्ने गरेको छ । “दैनिकजसो महिलाका केही न केही समस्या आइनै रहन्छन् । दुवै पक्षलाई राखेर समस्याको समाधान पनि गर्ने गरेका छौंँ”, उहाँले थप्नुभयो, “पुरुषले पेलेको हाम्रो नेपाली समाजले महिलाका सराहनीय कामप्रति जस भने कहिल्यै दिँदैन ।”

यस्तै हाल पोर्चुगलमै रहनुभएका दोलखाका निमल्हमु शेर्पाको भनाइ पनि उस्तै छ । नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका उपाध्यक्षसमेत रहनुभएका उहाँले दुःखमा परेका प्रवासी नेपालीलाई सहयोग गर्न पाउँदा सन्तुष्टि मिलेको बताउनुहुन्छ । “मलाई समाजसेवाका लागि पारिवारिक साथ र सहयोग पनि छ, त्यसैले नेपाली समुदायका लागि समाजसेवा गर्न तयार छु”, उहाँले भन्नुभयो, “प्रवासमा आएर पनि हाम्रो सोचाइ र अरुले गरेको कामको सम्मान हामी सबैले गर्न जरुरी छ ।”

भगवान् गिरी