१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बिशेष महाधिबेसन बोलाउने निर्णय भैसक्यो, सस्तो लोकप्रियता नखोजौ : कुमार पन्त, अध्यक्ष, एनआरएनए (भिडियो)

नेपालब्रिटेन डट कम्
३ माघ २०७६, शुक्रबार २०:५८

जस लिने होटवाजीको लागि महाधिबेशनको माग

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले संघले यस अघि नै बिशेष महाधिबेशन बोलाउने निर्णय गरिसकेको बताएका छन् । पन्तले डिसी नेपालसंगको एक अन्तर्वार्तामा आफु निर्वाचित भए पछिको पहिलो बैठकले नै बिशेष महाधिबेशन बोलाउने निर्णय गरे जानकारी पाए पछि केहि समूहले सस्तो लोकप्रियता र जस लिने होटवाजीको लागि महाधिबेशनको माग गरेको बताए । उनले सबै पक्षलाई समेटेर लैजाने प्रतिबद्दता जनाए ।

उनले बिशेष महाधिबेशनमा संघको बिधान, आर्थिक र वार्षिक प्रतिबेदन पेस गरिने बताए । पन्तले संघको निर्वाचन प्रणालीमा व्यापक परिवर्तन गर्न अध्ययन भैरहेको जनाए । उनले राजनीतिक अधिकार बाहेकको नेपाली नागरिकता एनआरएनले पाउने निश्चित भएको बताए।

उनले नेपाल सरकारसँग पूर्ण अधिकारसहितको नागरिकताको कुरा भइरहेको तर राजनीतिक अधिकारबाहेक आर्थिक, साँस्कृतिक र सामाजिक अधिकार सहितको नागरिकता पाउने निश्चित भएको बताए।

दोहोरो नागरिकताको माग गरेको आरोप लाग्ने गरेको एनआरएनएका अध्यक्ष पन्तले आफूहरुले दोहोरो नागरिकता नभई नेपाली नागरिकताको निरन्तरताको मात्र माग गरेको स्पष्ट पारे। उनले भने, ‘हामिले दोहोरो नागरिकताको माग गरेका हैनौं। हामीले नेपाली नागरिकताको निरन्तरताको मात्र माग गरेका हौं।’

नेपाली नागरिकता नेपालीले नै किन नपाउने भन्दै पश्न समेत गरेका छन्। उनले भने, ‘विदेशमा हामी गएको ३ वर्षभित्र नै नागरिकताको लागि वेल्कम गर्छ। तर, हामी नेपालमै जन्मेका नेपाली, नेपालमै केही गर्नुपर्छ भनेर मरिहत्ते गरी लागिरहेका हुन्छौं। यसरी नेपालमै रोजगारीको सृजना गर्नुपर्छ भन्ने हाम्रो नै नागरिकता किन खोस्नु? हामीले किन नागरिकता नपाउने?’

नेपाली नागरिकताको निरन्तरता भएमा नेपालमा लगानी गर्न अझै सजिलो हुने उनले बताए। एनआरएनको आउँदो पुस्ताले पनि आफूहरु नेपाली रहेकोमा गर्व गर्ने बताउदै उनले एनआरएनले नेपालमा गर्वका साथ लगानी गर्न पाओस भन्नका लागि पनि नेपाली नागरिकताको निरन्तरताको माग गरिएको बताए।