१३ बैशाख २०८१, बिहीबार
Follow Us

लन्डनस्थित नेपाली दूतावासका स्थानीय कर्मचारीको तलब वृद्धि !

नेपालब्रिटेन डट कम्
३ माघ २०७६, शुक्रबार २२:०८

लन्डन । सरकारले विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीहरुको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । पछिलो निर्णयले लन्डनस्थित नेपाली दूतावासका स्थानीय कर्मचारीको समेत तलब वृद्धि हुने भए हो । पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो ।

विदेशस्थित नेपाली नियोगमा काम गर्ने स्थानीय कर्मचारीको तलब स्थानिय मापदण्ड भन्दा न्युन हुँदा काम गर्ने कर्मचारी नभेटे पछि सरकारले तलब भत्ता बढाएको हो । हाल लन्डनस्थित नेपाली दूतावासमा काम गर्ने चालकको तलब महिनाको ९ सय पाउण्ड भन्दा कम छ । अरु कर्मचारीको तलब बेलायत सरकारले तोके भन्दा धेरै न्युन छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गोकुल बाँस्कोटाले पारिश्रमिक बढाउने निर्णय गरेको जानकारी दिए । तर कति प्रतिशत पारिश्रमिक वृद्धि गरिएको भन्ने खुलाइएको छैन ।

यस्तै सरकारले नेपाल र चीनबीचको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सन्धिलाई स्वीकृत गरी संघीय संसद्मा जानकारीका लागि पेश गर्ने निर्णय गरेको छ । सरकारले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा पुनः निर्वाचनका लागि ३० लाख रुपैयाँ र सीईडीएडब्लू समिति सदस्य पदमा निर्वाचनका लागि १० लाख रुपैयाँ राष्ट्रसंघको नेपाल स्थायी नियोग न्यूयोर्कलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ ।