१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बाल्यकालमा केपी ओली कस्ता थिए ?

नेपालब्रिटेन डट कम्
८ मंसिर २०७३, बुधबार १३:४३

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली ठ्ट्यौली पारामा गम्भीर कुरा गरिरहेका हुन्छन् । कार्यक्रममा अध्यक्ष ओली बोल्दा उखान टुक्का र हास्य प्रसँग जोड्ने गर्छन्, जस सहभागीलाई मनोरञ्जनसहितको खुराक दिएको हुन्छ । अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला बोलेका कुरा अहिलेसम्म चर्चाको विषय बनेको छ । रमाइलो पारामा प्रस्तुत हुने अध्यक्ष ओली बाल्यकालमा कस्ता थिए धेरैलाई चासो हुनसक्छ । उनी पहाड घरबाट तराई झरेपछि केही समय दमक–१७ मा बसेका थिए । झापामा उनले पहाड घर तेह्रथुमका छिमेकी इङनाम परिवारमा केही समय बिताए । त्यसबेला इङनाम परिवारकी छोरी शिवरुपा इङनाम (आङवोहाङ) सात वर्षकी थिइन् । यो त्यस्तै १८–१९ सालतिरको कुरा हो, शिवरुपाले केपी ओलीबारे विगत सम्झदै यसरी बोलिविस्तार लगाइन–
झोडा फाँडेर अहिलेको दमक–१७ मा दाजुहरु बस्नु हुन्थ्यो । माइला दाजुको विवाह भए पनि भाउजु तराईमा बस्न मान्नु भएन । त्यसैले खाना बनाउन र घरधन्दा सघाउन मलाई दाजुहरुले पहाडबाट तराई ल्याउनु भयो ।
सम्भवतः म त्यसबेला छ–सात वर्षकी हुनुपर्छ । १३ सालमा जन्मेकी हुँ । दाजुहरुसँगै बस्नका लागि केपी दाजु पनि आउनुभयो । उहाँ हाम्रै घरमा बस्नु हुन्थ्यो । दाजुहरुसँगै खेती किसानी काम सहयोग गर्नुहुन्थ्यो । भर्खर झोडा फाँडनी हुँदै थियो । घरमा १७–१८ वटा बाख्रा, एउटा भैसी, हल गोरु, सुगुरपाठालगायत थिए । म सानी फुच्ची भए पनि छुच्ची टाइपकी थिएँ । खाना पकाउने र बाख्रा चराउने मेरो डिउटी थियो ।
दाइहरुलाई काम लगाउने, काम गरेन भने गाली गर्थे । गाली मात्र होइन, भरे भात पाउँदैनस्, मासु पकाएको दिन बोसो मात्रै पाउलास् भन्दिन्थे । केपी दाजु अली अल्छे र स्वादे टाइपको हुनुहुन्थ्यो । जे भए पनि अरु दाजुहरुको अगाडि केपी दाजुलाई केही भन्न सक्दिन थिएँ, तर एक्लै भएका बेला उहाँलाई गोबर सोर्न, गाई वस्तुलाई कुँडो दिन र घाँस काट्न अह्राउँथे । उहाँ हत्तपत्त मेरा कुरा टेर्नु हुँदैन थियो । त्यत्ति बेला उहाँलाई पनि भरे भात पाउँदैनस् । मासु बिनाको भात खालास् भन्दै गाली गर्थे ।
एउटा घटना चाहिँ अहिले पनि सम्झिन्छु । संयोग पनि त्यस्तै परेछ । घरमा दुई तिन किसिमको शिकार पकाएकी थिएँ । त्यो दिन केपी दाजुले मैले अह्राएको काम गर्नु भएनछ । मलाई रिस उठिरहेको थियो । बेलुकी खाना खाने बेलामा उहाँलाई बोसै बोसो भएको मासु हालिदिएँ । उहाँले टुलुटुलु त्यही मासु पकाएको कराइमा हेरिरहनु भयो । असाध्य माया लाग्यो, पछि छानी छानी राम्रो मासु हालिदिएँ । भान्सामा खाना बस्दा पनि यो छैन, त्यो छैन भनेर सोधि राख्नु हुन्थ्थो, म झर्केर छैन भन्थे । दाजुहरु भएका बेला म केही बोल्न सक्दिन थिएँ । एक्लै भएका मौका पारेर काम अह्राउने र गाली गर्न मलाई खुब मज्जा लाग्थ्यो ।
हाम्रो समुदायमा तपाई हजुर भन्ने चलन थिए, अझै पनि जी हजुरको चलन हामीकहाँ छैन । केपी दाजुसँग पनि तँ तँ र म म बाटै कुराकानी हुन्थ्यो । मेरो छुच्ची स्वभाव भए पनि उहाँले बहिनी भनेर माया गर्नु हुन्थ्यो । उहाँको व्यवहार औधी मन पथ्र्यो । मासु पकाएको भाँडालाई घाँटी तन्काएर हेरोस् भनेरै म सुरुमा उहाँलाई थोरै मासु दिन्थे । उहाँ मासुको सौखिन हुनुहुन्थ्यो ।
मोइ पारेको दिन घिउ खान पाइन्थ्यो । घिउ बेच्न लैजानुपर्ने भएकाले एक चम्चाभन्दा बढी कसैलाई दिइदैन थियो । केपी दाइ घिउ, दही दूध भन्दा पनि मासु मन पराउनु हुन्थ्यो । क्षेत्री बाहुनले सुँगुर खाँदैन भनेको सुनेकी थिएँ, तर उहाँ जुनसुकै खानेकुरा संकोच नमानी खानुहुन्थ्यो ।
कृषकको घर भएकाले सबै काम गर्नुपथ्र्यो । हलो जोत्ने, आली लगाउने, घाँस काट्ने, बाख्रा वस्तु हेर्नुपथ्र्यो । केपी दाइले पनि हाम्रा दाइसँगसँगै काम गर्नु हुन्थ्यो ।
म सानै भएकाले केपी दाइ कसरी त्यहाँ आइपुग्नुभो, मलाई केही थाहा छैन । त्यहाँ अर्का एकजना काकाको छोरा पनि थिए । हाम्रो पहाड घर सँगै भएकाले केपी दाइ पनि त्यहाँ आउनु भएको सुनेकी मात्र हुँ । मलाई स्कुल पढाएनन्, त्यसैले सबै कुरा जान्ने बुझ्न सकिनँ । केही रमाइलो सम्झना मात्र बाँकी छ ।
दाजुहरुले केही खर्चपानी दिएपछि केपी दाइ त्यहाँबाट हिड्नु भएको मलाई थाहा छ । कहाँ जानुभो, कता जानुभो मलाई केही थाहा भएन । तर म १३ वर्षकी हुँदा एक दिन दमकको घरमा टुप्लुक्क आइपुग्नुभो । त्यसबेला केपी दाइलाई बाल्यकालको व्यवहार गर्ने आँट मसँग थिएन । सम्हालिएर कुरा गर्थे, त्यसबेला केपी दाइ त्यत्ति धेरै समय बस्नु भएन ।
अहिले पनि बेला बेला केपी दाजुलाई भेट्न जान्छु । उहाँको निर्वाचन क्षेत्र हामी बसोबास गर्ने ठाउँ नै भएकाले उनी पनि आउनुहुन्छ । काठमाडौं आएको बेला केपी दाजुलाई भेट्न जान्छु, पुरानो कुरा सम्झाउँछु । विगत रमाइलो मानेर सुन्नु हुन्छ, खुशी लाग्छ ।
प्रस्तुतिः सुनयना राउत