१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए बैठक पोखरामा शुरु, उत्साहजनक उपस्थिती

नेपालब्रिटेन डट कम्
४ माघ २०७६, शनिबार ०५:४६

लण्डन। गैरआवासीय नेपाली संघको फेस टू फेस बैठक गण्डकी प्रदेशको पोखरामा शुरु भएको छ । शनिवार विहान रुपाकोट रिसोर्टमा शुरु भएको बैठक दुई सम्म चल्ने छ । बैठकमा पदाधिकारी सहित करिब २ दर्जन देशका केन्द्रीय सदस्यहरुको उपस्थिती रहेको छ । आइसीसी सदस्य रामशरण सिमखडाका अनुसार बैठकमा ६० जना भन्दा बढी केन्द्रीय सदस्यहरुले प्रत्यक्ष सहभागी छन् भने अन्य सदस्यहरु कन्फ्रेन्सकल मार्फत बैठकमा सहभागी हुने छ ।

संघका महासचिव डा हेमराज शर्माकाअनुसार देश संघीय संरचनामा गइरहेको अवस्थामा संघका गतिविधिलाई प्रदेशस्तरसम्म पुर्याउन पहिलो पटक संघको बैठक काठमाडौँ बाहिर आह्वान गरिएको हो।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यसहित यो वर्ष संघका गतिविधिहरू पनि नेपाल केन्द्रित हुने उनको भनाइ छ । आन्तरिक बैठक मात्रै नभई संघद्वारा आयोजना गरिने अधिकांश गतिविधि पनि नेपाल केन्द्रित हुने उनले जनाए।

महासचिव डा. शर्माका अनुसार पोखरामा बस्ने यो प्रत्यक्ष बैठकले संघका विभिन्न विभागका प्रमुख र समितिका संयोजकहरूले कार्ययोजनाहरू प्रस्तुत गर्ने र त्यसैको आधारमा कार्य योजनालाई अन्तिम रूप दिदैँ वार्षिक कार्यतालिका तयार गरिनेछ। बैठकबाट संघका समिति र कार्यदललाई पनि पूर्णता दिइने छ।

यस कार्यकालको अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले संघको निर्वाचन प्रक्रियालगायत विधानमा समसामयिक सुधारका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो।

बैठकले संघको विशेष महाधिवेशनको मिति र स्थान समेत तोक्ने अपेक्षा गरिएको छ । यस कार्यकालको अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले संघको निर्वाचन प्रक्रिया लगायत विधानमा समसामयिक सुधारका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो।

त्यस्तै संघले अघि सारेको १० अर्बको लगानी, भिजिट नेपाल २०२०, एनआरएनए फाउण्डेसन, विज्ञ सम्मेलन, नागरिकता र सम्पत्तिको अधिकार, वैदेशिक रोजगार राहत कोष लगायतका सम्बन्धमा नेपाल सरकार र सरोकारवाला निकायहरूसँग छलफल र परामर्श गर्ने विषयमा बैठकमा छलफल गरिनेछ।

संघले दोश्रो विज्ञ सम्मेलन काठमाडौँ विश्वविद्यालयमा आयोजना गर्ने सोच अघि सारेको छ। हालसम्म संघका सम्मेलनहरू विभिन्न होटलहरूमा गरिँदै आएका थिए । विश्वविद्यालयमा आयोजना गरिने विज्ञ सम्मेलनको प्रभावकारिता, आर्थिक मितव्ययिता र सहभागितमूलक बनाउन विश्वविद्यालयका उपकुलपति लगायतका उच्चाधिकारीहरुसँग भेटघाट गर्ने सम्बन्धमा बैठकमा छलफल गरिनेछ । दोश्रो विज्ञ सम्मेलनमा सहकार्य गर्न परराष्ट्र मन्त्रालय, त्रिभुवन विश्‍वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान लगायतका निकायसँग गरिने छलफल सम्बन्धमा पनि पोखरा बैठकमा बहस गरिने महासचिव शर्माले बताए ।

बैठकमा गैरआवासीय नेपालीहरूको सम्पत्ति लगायतका अधिकारसँग जोडिएको ‘गैरआवासीय नेपाली सम्बन्धी ऐन’को संशोधन सम्बन्धमा विश्वका विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीहरुबाट संकलन गरिएका सुझावहरु संघको तर्फबाट नेपाल सरकारलाई पेश गरिने विषयमा छलफल गरिनेछ। त्यसैगरी बैठकमा वैदेशिक रोजगारीमा सम्बन्धमा श्वेतपत्र तयार गर्न तथा वैदेशिक रोजगार राहत कोषमा अभिवृद्धि गर्न विज्ञहरु, नेपाल सरकार र सरोकार पक्षसँग छलफल गर्नै सम्बन्धमा बहस गरिनेछ ।

बैठकमा संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरु डा. बद्री केसी, मन केसी, अर्जुन श्रेष्ठ, रविना थापा, सोनाम लामा, सचिव गौरी जोशी, आरके शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, संस्थापक नेता रामप्रताप थापा, क्षेत्रीय संयोजक तथा उपसंयोजक लगायतको उपस्थिती रहेको छ ।

बैठक पछि ‘देशको विकासका लागि संघको भूमिका’ सम्बन्धमा गण्डकी प्रदेश सरकारसँग अन्तक्रिया कार्यक्रम आयोजना गरिने संघका आइसीसी सदस्य रामशरण सिमखडाले जनाए ।