८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायती राजकुमार ह्यारीद्वारा शाही पदवी परित्याग

नेपालब्रिटेन डट कम्
५ माघ २०७६, आईतवार ०१:५०

लन्डन । बेलायती राजकुमार ह्यारी तथा उनकी श्रीमती मेगनको शाही पदवी खोसिने भएको छ । उनीहरुले आउँदो वसन्त ऋतुदेखि ‘हिज, हर रोयल हाइनेस्’ भन्ने पदवी र शाही कोष पनि प्रयोग गर्न नपाउने बकिङघम राजदरबारले शनिबार घोषणा गरेको छ । तर ह्यारीलाई राजकुमार र ड्युक अफ ससिक्स् एवं मेगनलाई डचेस अफ ससिक्स् भनेर चाहिं सम्बोधन गरिने छ ।

केही शाही विश्लेषकले यसलाई रानीको कडा निर्णयका रुपमा पनि लिएका छन्। ‘द ड्युक एण्ड डचेस अफ ससिक्स्’ ले वीन्डजोर बर्कसायरस्थित आफ्नो निवास फ्रगमोर कटेज मर्मतका लागि करदाताबाट लिएको २.४ मिलियन पाउन्ड पनि तिर्ने भएका छन्। उनीहरु सैन्य नियुक्तिबाट हट्ने र बेलायती महारानीको औपचारिक प्रतिनिधित्वसमेत नगर्ने बीबीसीले जनाएको छ। विज्ञप्तिमा ह्यारी दम्पतीको सुरक्षा प्रबन्धबारे भने केही खुलाइएको छैन।

रानीले महिनौंको छलफलपछि नाति र उनको परिवारका लागि रचनात्मक एवं सहयोगी बाटो पहिल्याएको भन्दै खुसी व्यक्त गरेकी छन्। उनले ह्यारी, मेगन र उनीहरुका छोरा आर्ची आफ्नो परिवारमा सधैं प्रिय रहिरहने पनि उल्लेख गरेकी छन्। ह्यारी परिवारमा खुसी र शान्तिपूर्ण नयाँ जीवनको कामना पनि रानीले गरेकी छन्।

विज्ञप्तिमा ह्यारी दम्पतीले आफूहरुको नयाँ स्वतन्त्र जीवनका लागि महारानी र राजपरिवारबाट प्राप्त समर्थनप्रति आभार व्यक्त गरेको पनि जनाइएको छ। ह्यारी दम्पतीको शाही भूमिका परित्यागबारे महारानी एलिजावेथ द्वितीयाले गत सोमबार आफ्ना परिवारका वरिष्ठ सदस्यहरुसँग स्यान्ड्रिङ्गम दरबारमा छलफल गरेकी थिइन्।

ह्यारी मेगनले राजपरिवारको वरिष्ठ सदस्यका रुपमा आफूहरु जिम्मेवारीबाट अलग्गिने र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेपछि रानीले दरबारमा छलफलका लागि बोलाएकी थिइन्। छलफलमा रानीले उनीहरुको चाहनाप्रति आफ्नो पूर्ण सहयोग रहने बताउँदै संक्रमणकालको अवधिभर यूके तथा क्यानाडाबीच समय बिताउन सहमति जनाएकी थिइन्।

ह्यारी दम्पतीले गत अक्टोबरमा शाही जीवनको चुनौती र केही बेलायती अखबारले आफूहरुको पिछा गरेको भन्दै चिन्ता व्यक्त गरेको समाचार प्रकाशित भएका थिए। ह्यारीले मिडियाका कारण मेगनले आफ्नी आमा डायनाकै नियति भोग्नुपर्ने त्राससमेत व्यक्त गरेका थिए।

बेलायतको राजनीति तथा स्वास्थ्य क्षेत्रमा निकट रहेर काम गरिरहेका बच्चुकैलाश कैनी राजपरिवारमा सृजित यो संकट ह्यारी र मेगनमा २१ औं शताब्दीमा आधुनिक र स्वतन्त्र बन्ने सोचका कारण आएको बताउँछन्। ‘आजको पुस्तामा स्वन्तन्त्रताको महत्व कति छ भन्ने यो एउटा उदाहरण हो’, कैनी भन्छन्, ‘आजको पुस्ता कसैको दवावमा बस्न सक्दैन् भन्ने पनि यसबाट बुझ्न सकिन्छ।’
बेलायती राजपरिवार र यो संग सम्बन्धित रीतिरिवाज, संस्कार र परम्परा सयौं वर्ष पुराना छन्। साथै बेलायतीहरु राजसंस्थालाई निकै आदर सम्मान गर्छन्। त्यसैले पनि यो घटनाले बेलायती राजपरिवारको संरचना र राजपरिवारलाईहेर्ने नजरमा खासै फरक नआउने ठान्छन् कैनी।

– E-kantipur