७ बैशाख २०८१, शुक्रबार
Follow Us

गृह, अर्थलगायत महत्वपूर्ण मन्त्रालयमा सचिव रिक्त हुँदै

nepalbritain news
६ माघ २०७६, सोमबार ०२:५५

काठमाडौं। सर्वाधिक आकर्षक र शक्तिशाली मानिएका अर्थ, गृह मन्त्रालयलगायत महत्वपूर्ण निकायमा एकैपटक सचिव पद रिक्त हुने भएको छ । अर्थ मन्त्रालयका सचिव राजन खनाल, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य एकैपटक सेवा निवृत्त हुने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अनिल ठाकुर भने गत २१ पुसमै सेवा निवृत्त भएपछि चार सचिव पद रिक्त हुन लागेको हो ।

अर्थ मन्त्रालयका सचिव खनाल, गृह मन्त्रालयका सचिव राई र उपराष्ट्रपति कार्यालयका आचार्य २२ माघदेखि सचिवको पाँच वर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त हुन लागेका हुन् । उनीहरूको अवकाश सँगसँगै हालका चार जना वरिष्ठ सहसचिवहरू सचिवमा बढुवा हुनेछन् । खनाल, राई र आचार्य तीनै जना २०७१ साल २२ माघमा सचिवमा बढुवा भएका थिए ।

प्रधानमन्त्री कार्यालयका सचिव ठाकुर सेवानिवृत्त भएपछि रिक्त रहेको एक सचिव पदमा हाल सबैभन्दा वरिष्ठ सहसचिवका रूपमा रहेका दिनेश भट्टराई बढुवा हुने करिब करिब पक्कापक्की भएको छ । त्यस्तै, रिक्त हुने तीन सचिव पदका लागि भने प्रशासन सेवाका वरिष्ठ सहसचिव एकनारायण अर्याल, टेकनारायण पाण्डे र रामशरण पुडासैनीको बढुवा हुने निश्चित भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ । शिक्षाका बाबुराम पौडेल वरिष्ठ सहसचिव रहे पनि उमेरहदका कारण १८ माघदेखि अवकाश पाउने भएकाले उनी सचिव हुन नपाउने भएका छन् ।राजधानी दैनिकमा खबर छ ।