८ बैशाख २०८१, शनिबार
Follow Us

मोरङमा ‘ग्याङ फाइट’ : तीन घाइते, दुई गम्भीर

sarusaru
६ माघ २०७६, सोमबार ०५:०५

विराटनगर : मोरङको धनपालनथान गाउँपालिका ४ हरकपुरमा शनिबार राती मादक पदार्थ सेवन (मापसे) पछि युवा बीचमा उत्पन्न विवाद ‘ग्याङ फाइट’ मा परिणत भएको छ ।  ‘ग्याङफाइट’ मा तीनजना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ । ४२ वर्षीय विसुनदेव मुखिया, ३० वर्षीय बलराम मुखिया, २४ वर्षीय धनीराम मुखियाको समूह र ३५ वर्षीय मणिचन महतो, ६० वर्षीय रामविलास महतो, ३२ वर्षीय शंकर महतो, २१ वर्षीय हरिओम महतो, २६ वर्षीय किसुन महतोको समूह बीच ‘ग्याङ फाइट’ भएको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले घटनामा विसुनदेव, बलराम र किसुन घाइते भएको बताए । घाइतेमध्ये विसुनदेव र बलरामको अवस्था गम्भीर रहेको दाहालको भनाइ छ ।

चिन्ताजनक अवस्थामा विराटनगरको न्युरो अस्पतालमा उपचाररत विसुनदेवको टाउकोको शल्यक्रिया गरिएको र दुवैजनाको आइसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोल्डेन अस्पतालमा उपचाररत किसुनको टाउकोमा सात टाँका लगाइएको भएपनि अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको प्रनि दाहालले बताए ।

प्रहरीका अनुसार कुसहरि मण्डलको होटलमा मादक पदार्थ सेवन गर्ने क्रममा दुई युवाहरु हरिओम र धनीरामबीच विवाद सुरु भएको थियो । होटलबाट निस्किएर अघि बढेका उनीहरुले फोन गरेर आ-आफ्ना मान्छेलाई बोलाएपछि दुवै पक्षबीच ‘ग्याङ फाइट’ भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रनि दाहालले बताए । दोहोरो कुटाकुटका क्रममा बाँस र ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ ।

प्रहरीले धनीराम, मणिचन, रामविलास, शंकर, हरिओमलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । उनीहरुको पनि शरीरका विभिन्न भागमा सामान्य चोटहरु रहेको प्रहरीले जनाएको छ ।

अन्नपूर्ण पोष्ट