७ बैशाख २०८१, शुक्रबार
Follow Us

एमसीसी पारित गर्नुको विकल्प छैन : परराष्ट्रमन्त्री ज्ञवाली

नेपालब्रिटेन संवाददाता
६ माघ २०७६, सोमबार ०८:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदीय दलको बैठकले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा जानकारी लिएको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीका विषयमा देखिएका विवाद सम्बन्धमा मन्त्री ज्ञवालीसँग छलफल गरेका हुन् ।

छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसी पारित गर्नुको विकल्प नरहेको बताएका छन् । २००४ देखि नै एमसीसी सम्झौताका लागि नेपालले पहल गरेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले भने, ‘यो गरिबी निवारण र पूर्वाधार विकास सम्बन्धी कार्यक्रम हो । इन्डोप्यासेफिक रणनीतिक वा सैन्य रणनीति हैन ।’

राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले दल भित्र एमसीसीका विषयमा एउटै मत बनोस् भन्ने उद्देश्यले छलफल गरिएको जानकारी दिए । सरकारले गरेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहायता सम्बन्धी सम्झौता पछिल्लो समय विवादित बनेको छ ।

खासगरी अमेरिकाको इण्डोप्यासिफिक रणनीति भित्र एमसीसी रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै विवाद बढेको छ । पार्टीभित्र एमसीसीका विषयमा बढिरहेको विवाद समाधान गर्न र एमसीसीका विषयमा स्पष्ट हुन भन्दै नेकपाको राष्ट्रिय सभा संसदीय दलले परराष्ट्र मन्त्री ज्ञवालीसँग छलफल गरेको हो ।