१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन विश्व सम्मेलन र निर्वाचन छुट्टा छुट्टै हुने

नेपालब्रिटेन डट कम्
६ माघ २०७६, सोमबार २१:०९

लण्डन । एनआरएन पदाधिकारीको निर्वाचन र विश्व सम्मेलन छुट्टा छुट्टै वर्ष गरिने भएको छ । एनआरएनको हालै सम्पन्न पोखरा बैठकले उक्त महत्वपूर्ण निर्णय गरेको महासचिव डा. हेमराज शर्माले जनाए ।

गैरआवासीय नेपाली संघ, नेपाल सरकार र उधोग बाणिज्य महासंघले हरेक दुई वर्षमा काठमाडौमा एनआरएन विश्व सम्मेलन गर्दै आएका थिए ।

‘विश्व सम्मेलनसँगै गैरआवासीय नेपाली संघका पदाधिकारीहरुको पनि निर्वाचन हुने गरेको थियो । संघको निर्वाचनका कारण विश्व सम्मेलन प्रभावकारी हुन सकेको थिएन’- शर्मा भन्छन् ‘प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्रमन्त्री लगायत नेपाल सरकारका महत्वपूर्ण ओहदाका व्यक्तिहरुको उपस्थितिले गर्दा पुरै राष्ट्रिय मेडिया र राजनैतिक दलहरुको ध्यानाकर्षण विश्व सम्मेलन र निर्वाचन हुने गरेको थियो । यसले निर्वाचनलाई बाहिरी प्रभाव पार्दै आएको थियो । २०२१ अक्टोबरमा संघको निर्वाचन मात्र हुनेछ, विश्व सम्मेलन हुने छैन् । विश्व सम्मेलन निर्वाचन नभएको वर्ष गरिनेछ ।’

सुरक्षाका कारण विश्व सम्मेलन (साथै हुने संघको निर्वाचन) ५ तारे होटलमा गर्नुपर्ने स्थिति थियो । होटलमा लाग्ने खाना खर्च र अन्य ‘लजिष्टिक’ का लागि प्रत्येक प्रतिनिधिले २०० अमेरिकी डलर बराबरको दर्ता शुल्क तिर्नु पर्थ्यो । दर्ता शुल्कका कारण थुप्रै विकृति पनि देखिएका थिए ।

संघको यो निर्णयले निर्वाचनलाई कम खर्चिलो र निशुल्क दर्ताको बाटो खोलेको जनाइएको छ । ‘निर्वाचन अब ५ तारे होटलमा नगरेर राष्ट्रिय दलका निर्वाचनमा जस्तै भृकुटीमण्डपमा पाल टांगेर, पाउरोटी र समोसा आएर शुन्यदर्ता शुल्कमा गर्न सकिन्छ । बाहिरी प्रभाव कम गर्न काठमाडौ बाहिर पनि चुनाव गर्न सकिन्छ’- शर्माले भने ।