११ बैशाख २०८१, मंगलवार
Follow Us

उपत्यकामा तीन तहको सवारी रुट प्रणाली

nepalbritain news
७ माघ २०७६, मंगलवार ०२:१३

काठमाडौँ । यातायात व्यवस्था विभागले उपत्यकाका सडकहरूलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली तयार गरेको छ तर यसको कार्यान्वयनमा ढिलाइ भएको छ ।
एक वर्षअघि सवारी साधनको चाप व्यवस्थित गरी ट्राफिक व्यवस्थापनका लागि नयाँ रुट प्रणाली लागू गर्न सडकलाई प्राथमिकीकरणका आधारमा विभाजन गरिएको थियो । रुट व्यवस्थापनका लागि अध्ययन प्रतिवेदन तयार गरे पनि विभागले कार्यान्वयन अझै गरेको छैन । विभाग कार्यान्वयनको तयारीमा रहेको जनाइएको छ ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले भने “अपडेट गर्दै छौँ, जतिसक्दो चाँडो कार्यान्वयनमा लैजाने छौँ, कार्यान्वयनमा जाने तयारीमा छौँ ।” तर एक वर्ष अघिदेखि नै विभागले कार्यान्वयनको तयारीमा रहेको जनाउँदै आएको छ । विभागका अनुसार प्राथमिक, द्वितीय र तृतीय गरी तीन तहको रुटको अवधारणा बनाइएको छ ।
प्राथमिक रुटमा चक्रपथसँगै आसपासका सडकलाई लिइएको छ । जहाँ ठूला सवारीसाधन र यात्रुवाहक सवारी साधनलाई चल्न दिइने छ । द्वितीय रुटमा मझौला सवारीसाधन सञ्चालन हुनेछन् । हाल नेपाल यातायात लगायतका मझौला सवारी साधनलाई द्वितीय रुटमा सञ्चालन गरिने छ । यो रुट प्राथमिक रुटभन्दा छोटो हुने छ ।
तृतीय तहको रुटमा साना सवारी सञ्चालन हुनेछन् । ट्याक्सी लगायतका सवारी यसमा चल्नेछन् । यी छोटा दूरीका रुट हुनेछन् । यो रुट प्रणाली लागू भएपछि अहिले जस्तो सबै सवारीसाधन एउटै रुटमा चल्न पाउने छैनन् । गोरखापत्रमा खबर छ ।