१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कक्षा १ मा एकजना विद्यार्थी !

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७३, बिहीबार ०५:२१

पाल्पा । पाल्पा जिल्ला छहरा–५ अम्लाबासस्थित सल्लेरी प्राथमिक विद्यालयको कक्षा १ को कक्षाकोठा प्रायः बन्द नै हुन्छ । छहरा–५ की प्रमिसा विक बिरामी भई विद्यालय आउन नसक्दा वा अन्यत्र जाँदा उनले पढ्ने कक्षा १ मा ढोका खुल्दैन, पठनपाठन पनि हुन सक्दैन र कक्षाकोठामा शिक्षक–शिक्षिका पनि पढाउन प्रवेश गर्दैनन् ।

यस प्राविमा कक्षा १ मा प्रमिसा विक नै एकमात्र निर्णायक विद्यार्थी हुन् । यस प्राविमा कक्षा १ देखि ५ सम्म ३१ जना विद्यार्थी नियमित उपस्थित हुन्छन् । “प्रमिसा विद्यालय नआउँदा कहिलेकाहीँ कक्षाकोठा नै शून्य हुन्छ,” शिक्षक पारसमणि पोखरेलले भन्नुभयो– “बिरामी हँुदा र आमासँग माउल जाँदा कक्षा शून्य हुन्छ ।”

कक्षा १ मा यस शैक्षिकसत्रमा तीनजना विद्यार्थी भर्ना भएकामा अहिले दुईजना विद्यार्थी अन्यत्र पढ्न गएपछि प्रमिसा विक एक्लै पढ्दै आएकी हुन् । उनले कक्षाकोठामा साथीसँग बसेर पढ्दा रमाइलो लाग्ने अनुभव सुनाउँछिन् । तर कक्षा १ मा एकजना मात्र विद्यार्थी छन्, उनका साथी शिक्षक र शिक्षिका मात्र हुन् ।

छहरा–५ मा मात्र दुईओटा प्राथमिक विद्यालय सञ्चालनमा रहेका छन् । मङ्गालमा नवज्योति प्राथमिक विद्यालय, अम्लाबासमा सल्लेरी प्राथमिक विद्यालय, नजिकै बोर्डिङ स्कुल र भैरव नवदीप उच्च माविमा विद्यार्थी बाँडिन थालेपछि सामुदायिक विद्यालयका प्रावि तहमा विद्यार्थी सङ्ख्यामा कमी हुँदै गएको हो ।

विसं २०५५ सालमा कक्षा १ सञ्चालन हुँदा एकसय चारजना विद्यार्थी भर्ना भएकामा अहिले एकजना विद्यार्थी मात्र रहेको शिक्षक पारसमणि पोखरेलले जानकारी दिनुभयो । हामीले मिहेनत गरेर विद्यार्थीलाई पढाउने, विद्यार्थी जेहेन्दार हुन थालेसँगै अभिभावकले अन्यत्र लैजाने गर्दा विद्यार्थी सङ्ख्या घट्न थालेको शिक्षकको दाबी छ ।

बाल शिक्षामा ६ जना, कक्षा १ मा एक, २ मा चार, ३ मा आठ, ४ मा आठ, ५ मा १० जना विद्यार्थीले सल्लेरी प्राविमा पढ्दै आएका छन् । अधिकांश विपन्न समुदायका छोराछोरीले मात्र सामुदायिक विद्यालयमा अध्ययन गर्ने, आर्थिक रुपमा सबल र नेपाल सरकारका जागिरेका छोराछोरीले निजी स्कुलमा पढाउन थालेसँगै सामुदायिक विद्यालय धराशायी हँुदै गएको छ । छहरा स्रोत केन्द्रअन्तर्गत प्राविमा उत्कृष्टमध्येमा पर्ने यो प्राविको साक्षरता दर राम्रो भएको विद्यालयको दाबी छ ।

विद्यार्थी सङ्ख्या कमी भएपनि समुदायको सहयोगले विद्यालय अन्यत्र गाभिन परेको छैन । विद्यालयमा दुई राहत शिक्षक, एक करार शिक्षक, बालशिक्षिका र एकजना स्वयम्सेवक रहेका छन् ।

गाउँमा विद्यालय खोल्न नेतृत्व गर्नेले पनि अहिले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी नातिनातिनीलाई पढाउँदैनन् । निजी स्कुलमा महँगो शुल्क तिरेर पढाउने होडबाजीले सामुदायिक विद्यालय अहिले आकर्षणको केन्द्र बन्न सकेको छैन ।
– कृष्ण दर्नाल