१५ बैशाख २०८१, शनिबार
Follow Us

ललिता निवास प्रकरण : किर्ते र ठगीमा कारबाही सिफारिस

sarusaru
७ माघ २०७६, मंगलवार ०३:५६

काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्नहरूमाथि भ्रष्टाचारको आरोपका अतिरिक्त ठगी र किर्तेको अभियोगमा कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

भूमाफिया र कर्मचारीको मिलेमतोमा बालुवाटारको १ सय १४ रोपनी जग्गा हिनामिनाको घटना अनुसन्धान गरेको सीआईबीले उच्च पदस्थ सरकारी अधिकारी र मालपोतका कर्मचारीदेखि भूमाफियासम्मको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको निष्कर्ष निकालेको छ । ब्युरोका प्रमुख डीआईजी नीरज शाहीले सरकारवादी मुद्दा आकर्षित हुने कसुर देखिएको बताए । ‘मूलतः ठगी, किर्ते र भ्रष्टाचार भएको देखियो,’ उनले भने, ‘भ्रष्टाचारका विषयमा अख्तियारले अनुसन्धान गरिरहेकै छ । त्यसबाट ठगी र किर्तेमा पनि मुद्दा चलाउनुपर्छ भन्ने हाम्रो राय हो ।’ उनले प्रतिवेदन गोप्य हुने भन्दै अरू विवरण खुलाउन चाहेनन् ।