१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मिर्गाैला रोगी सुशीलाको उपचारमा सहयोग

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७३, बिहीबार ०५:२५

बेनी । मिर्गाैला रोगबाट ग्रसित म्याग्दी कुहुँकी सुशीला राम्जालीको उपचारका लागि राम्जालीका सहपाठी र कोरियामा रहेका म्याग्देलीले १२ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कोरियाका अध्यक्ष लोकबहादुर बानियाँ ‘आलोक’को संयोजकत्वमा सञ्चालन भएको अभियान तथा कोरियामा रहेका विभिन्न सङ्घसंस्थामार्फत उनलाई १० लाख सात हजार नौसय रुपैयाँ सहयोग गरिएको हो ।

त्यसैगरी, राम्जालीका सहपाठी प्रकाश माविका पूर्वविद्यार्थीले रु एक लाख ९५ हजारभन्दा बढी आर्थिक सहयोग गरेका छन् । प्रकाश माविकी पूर्वविद्यार्थीसमेत रहेकी राम्जालीलाई बुधबार एक कार्यक्रमबीच पूर्वविद्यार्थी प्रमोद श्रेष्ठ, रश्मी गौचन र महेश श्रेष्ठले एक लाख ९५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

दुवै मिर्गाैलामा एक बर्षदेखि खराबी आएपछि लामो समयसम्म भारतमा उपचार गराइरहेकी २९ बर्षीया राम्जालीलाई स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले समेत आर्थिक सहयोग गरेका थिए । अभियानअन्तर्गत प्रकाश माविका पूर्व विद्यार्थीले उपचारका क्रममा रकम सङ्कलन गर्ने अभियानसमेत सञ्चालन गरेका छन् ।

“म्याग्देली चेलीको जीवन रक्षामा जु्ट्ने सबैलाई विशेष धन्यवाद दिन्छौँ । उहाँको स्वास्थ्य लाभको कामना गर्दछौँ”, अध्यक्ष बानियाँले भन्नुभयो । केही वर्षअगाडि रोजगारीको सिलसिलामा कोरियामा रहँदा मोना कोरियाको अभियानमा सक्रियतापूर्वक सहभागिता जनाउने गरेकी राम्जालीको भारतको कोलकातामा उपचार भइरहेको छ ।