१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायती सेनामा गोर्खा सैनिककाे संख्या २५ प्रतिशतले थपिंदै

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७३, बिहीबार ०९:३१

बेलायती सेनामा गोर्खाहरुको संख्या केही वर्षभित्र २५ प्रतिशतले बढाइने भएको छ । बेलायती सेनाका उच्च अधिकृत लेफ्टिनेन्ट जनरल जेम्स बसलले केही अघि ब्रिगेड अफ गोर्खाज् युनिट बढाइने जानकारी दिएका हुन् ।
हाल वर्षेनी २४० जना गोर्खा नेपालबाट छनोट गरेर ल्याउने गरिएकामा यो संख्या अब २५ प्रतिशतले बढ्ने भएको हो । बेलायती सेनामा हाल करिब २५ सय गोर्खा सेवारत छन् ।
इन्फेन्ट्री ट्रेनिङ सेन्टर क्याट्रिकमा ९ महिने कडा प्रशिक्षण समापनका बेला आयोजित समारोहमा बसलले बेलायती रक्षा मन्त्रालय (एमओडी) ले गोर्खा संख्या बढाउन लागेको घोषणा गरेका हुन् । नेपालमा हजारौं प्रतिस्पर्धीमध्येबाट छनोट भएर तालिम लिई उत्तिर्ण २३२ गोर्खा, तिनका परिवार र बेलायती सैन्य अधिकृतहरु कार्यक्रममा सहभागी थिए । ८ जना गोर्खा भने घाइते भएका कारण उनीहरुले आउने वर्षको शुरुतिर पास आउट गर्ने जनाइएको छ ।
ब्रिटिश आर्मीमा गोर्खा भर्ती संख्या बढाइने योजनाबीच इन्फेन्ट्री ट्रेनिङ सेन्टर, क्याट्रिकमा नयाँ भान्सा घर (मेस हट) पनि बनाउन शुरु भएको छ । गोर्खा कम्पनी स्टाफहरुले निर्माण गरिरहेको उक्त घरले नयाँ भर्ती भएकाहरुलाई खाना पकाउन खान, कक्षा लिन र समकक्षी एवं प्रशिक्षकहरुबीच बाह्य वातावरणमा घुलमिल (सोसलाइज) हुन अवसर दिने आशा गरिएको छ ।
मेसिङ हट प्रोजेक्ट म्यानेजर क्याप्टेन मिनजंग गुरुङले फोर्सेस टिभीसँग कुरा गर्दै दाउरा बालेर मेसमा पकाएको खानाको स्वाद नै बेग्लै हुने बताए । नेपाली परिवेश अनुसार यस्तो भान्सा घर गोर्खाहरुलाई उपयुक्त हुने उनको विश्वास छ ।
विश्वका विभिन्न युद्धमा सहभागी गोर्खा ब्रिटिस सेनाको अभिन्न अंग रहँदै आएका छन् । गत वर्ष ब्रिटिस सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गाँठ मनाइएको थियो । बेलायती राजपरिवारमा समेत गोर्खाहरुको साहस र वीरताको प्रशंसा हुँदै आएको छ ।
बेलायती राजकुमार हयारीले आफू गोर्खाहरुमाझ सधैं सुरक्षित महशुस गर्ने बताउँदै आएका छन् । ह्यारी कुनै बेला गोर्खाहरुकै साथ अफगानिस्तान युद्धमा सामेल थिए ।
ekantipur