१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा

नेपालब्रिटेन संवाददाता
९ माघ २०७६, बिहीबार ०६:३७

बेइजिङ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा पनि फैलिएको छ । जापान, दक्षिण कोरिया र अमेरिकामा पनि एक–एक जना संक्रमित भेटिएका छन् । सबै संक्रमित चिनियाँ शहर बुहानका वा त्यहाँबाट फर्किका मानिस भएको अधिकारीहरुले जनाएका छन् । यसैबीच ताइवानले पनि एकजना संक्रमित भेटिएको बताएको छ ।

पर्यटकका रुपमा अधिकांश चिनियाँ नागरिक भित्र्ने उत्तर कोरियाले भने सबै विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । भाइरसको प्रकोपलाई अन्तर्राष्ट्रिय आपतकाल घोषणा गर्ने बेला भइसकेको केही विज्ञले बताएका छन् ।

उता प्रकोप फैलिएको बुहानमा सार्वजनिक यातायातमा अस्थायी प्रतिबन्ध लगाइएको छ । झण्डै एक करोड जनसंख्या रहेको बुहान शहरका बासिन्दालाई त्यस क्षेत्र छाडेर अन्यत्र नजान र बाहिरका मानिसलाई त्यहाँ नआउन सरकारले अनुरोध गरेको छ । चिनियाँ शहर बुहानमा अनुहारमा लगाउने मास्क किन्नेको लामो लाइन लाग्न थालेको छ ।

औषधि पसलेहरुले एकजना ग्राहकलाई एउटा मात्रै मास्कको प्याकेट बेच्न थालेका छन् । रुघाखोकी र त्योभन्दा गम्भीर विरामी गराउन सक्ने नयाँ खालको कोरोना भाइरस सन् २००२ देखि २००३ सम्म दर्जनौ राष्ट्रमा फैलिएको ‘सार्स’ प्रकृतिको छ । सार्सका कारण त्यसबेला आठ सय जनाको मृत्यु भएको थियो ।