१२ बैशाख २०८१, बुधबार
Follow Us

निकुञ्ज घुम्दै राजकुमारी

नेपालब्रिटेन संवाददाता
९ माघ २०७६, बिहीबार ०७:४५

चितवन । बेल्जियमकी राजकुमारी एस्ट्रिड यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा रमाउँदै हुनुहुन्छ । बुधबार साँझ निकुञ्जको एउटा प्रवेशद्वार मेघौलीमा राजकुमारी एस्ट्रिडको वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भरतपुर महानगरपालिकाले स्वागत गरेको थियो ।

साँझ नै प्रदेश सरकारको आतिथ्यतामा एस्ट्रिडलाई रात्रिभोज दिइएको थियो । सो अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले राजकुमारी एस्ट्रिडलाई चितवन राष्ट्रिय निकुञ्जसँगै प्रदेशका पर्यटकीय क्षेत्रका बारेमा अवगत गरउनुभएको थियो ।

मन्त्रीका स्वकीय सचिव नवराज पुडासैनीका अनुसार भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै प्रदेश सरकारको आतिथ्यतामा राजकुमारीलाई यहाँ भ्रमण गराउने प्रबन्ध मिलाइएको छ । रात्रिभोजमा महानगरपालिकाका प्रमुख रेणु दाहाल, राजकुमारी एस्ट्रिडका श्रीमान् लोरेन्जसहित विभिन्न व्यक्ति, सङ्घीय सरकारका पर्यटन मन्त्रालयका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापालगायतको उपस्थिति रहेको पुडासैनीले जानकारी दिनुभयो ।

राजदूत थापाका अनुसार राजकुमारी एस्ट्रिडसहित बेल्जियमबाट आएको उच्च अधिकारीको समूहको आज दिनभर निकुञ्जमा निजी भ्रमण रहेको छ । डुङ्गा सयर, जीप सयरलगायतका गतिविधिमा राजकुमारी सहभागी भई वन र वन्यजन्तुको अवलोकन गर्ने निजी कार्यक्रम रहेको उहाँले बताउनुभयो । निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोही, विभिन्न प्रजातिका चराचुरुङ्गी, ठूला र आकर्षक तालतलैया देख्न सकिन्छ ।

निजी भ्रमण भएकाले सरकारी अधिकारीले राजकुमारीको भ्रमणका बारेमा विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । राजकुमारी एस्ट्रिड एक साताका लागि नेपाल भ्रमणमा आउनुभएको हो । शुक्रबार काठमाडौँ फर्किएर शनिबार त्यहाँबाट बेल्जियम फर्कने कार्यक्रम छ । उहाँ जनवरी १९ तारिखमा नेपाल आउनुभएको हो ।