७ बैशाख २०८१, शुक्रबार
Follow Us

इङल्याण्ड एफए र एन्फा बीच सम्झौता, मे २५ तारीखमा नेपाल इङल्याण्डसंग भिड्ने

नेपालब्रिटेन डट कम्
९ माघ २०७६, बिहीबार ०९:१८

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र इङल्याण्ड एफएबीच बुधबार नेपाल र इङल्याण्ड सी बीच हुने मैत्रीपुर्ण फुटबल म्याचका लागि सम्झौता भएको छ ।

एक कार्यक्रमका बीच आयोजित सम्झौता कार्यक्रममा एन्फाको तर्फबाट अध्यक्ष कर्मा छिरिङ शेर्पा र इङल्याण्ड एफएको तर्फबाट नेशनल लिग सिस्टमका प्रमुख लाउरेन्स जोन्सले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार नेपाली राष्ट्रिय फुटबल टोलीले यसै बर्षको मई २५ तारीखका दिन इङल्याण्डको सी टिमसँग युके मै एक मैत्रीपुर्ण फुटबल म्याच खेल्नेछ । एन्फाका अनुसार उक्त फुटबल म्याच एल्डरशट टाउन एफसीको मैदानमा हुनेछ ।

त्यति मात्र नभएर सन् २०२१ मा इङल्याण्डको टोली पनि मैत्रीपुर्ण फुटबल म्याचका लागि नेपाल आउने एन्फाले जनाएको छ । उता सम्झौतापश्चात् एन्फा अध्यक्ष शेर्पाले नेपाली फुटबलको विकासमा इङल्याण्ड एफएसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।

त्यस्तै इङल्याण्ड एफएका तर्फबाट लाउरेन्स जोन्सले पनि यो सम्झौताले दुवै पक्षलाई फाईदा पुग्ने बताए । खासगरी यो सहकार्यले युवा खेलाडीहरुलाई उच्च तहको फुटबलमा आफूलाई अभ्यस्त बनाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै यो सम्झौताले एन्फा र इङल्याण्ड एफएबीचको सम्बन्ध थप बलियो हुने समेत जोन्सले बताए ।

स्मरण रहोस, एन्फा अध्यक्ष शेर्पा गत बर्ष युके भ्रमणमा गएका थिए । त्यतिबेला उनले त्यहाँ इङल्याण्ड एफएसँग नेपाल र इङलिस टोलीबीच हुने मैत्रीपूर्ण फुटबल म्याचका लागि आवश्यक छलफल गरेका थिए । यी सबैको बन्दोबस्त संयोजन भने सहारा युकेका पूर्व अध्यक्ष मिन गुरुङले गरेका थिए ।

कार्यक्रममा उपस्थित गुरुङले एन्फा र इङल्याण्ड एफएबीचको सम्झौतालाई पहिलो खुड्किलोका रुपमा रहेको बताए । गुरुङका अनुसार यो सम्झौताले नेपाली फुटबलको विकासमा थप अवसरहरुको सिर्जना हुने विश्वास व्यक्त गरे ।