२६ बैशाख २०८१, बुधबार
Follow Us

अमेरिका पुगेकी उपमेयर दन्ता नेपाली सम्पर्कविहीन

नेपालब्रिटेन संवाददाता
९ माघ २०७६, बिहीबार १०:५९

कालिकोट । कार्यालयलाई जानकारी नदिइकनै गत असोजमा अमेरिका पुगेकी तिलागुफा नगरपालिका उपमेयर दन्ता नेपाली दर्शना सम्पर्कविहीन भएकी छन् । सामाजिक सञ्जालमा समेत उनको उपस्थिति छैन । गत असोजमा काठमाडौं गएको र कात्तिकमा अमेरिका गएको सामाजिक सञ्जालबाटै उनले जानकारी दिएकी थिइन् । तिलागुफा नगरपालिका–५ का वडाध्यक्ष टिकाराम न्यौपानेका अनुसार अहिलेसम्म उनले नगरपालिकामा कुनै जानकारी दिएकी छैनन् ।

‘उपमेयरले अमेरिका भ्रमण जाने भनेर नगरपालिकाको पत्र माग्नुभएको थियो । नगरपालिका प्रमुख रतनबहादुर शाहीले पत्रका विषयमा नगर कार्यपालिकाको बैठकमा कुरा उठाउनुभयो । तर अमेरिका केका लागि जाने, किन जाने लगायत प्रश्न कार्यपालिकामा उठेपछि मेयरले नगरबाट पत्र दिनुभएन । त्यसपछि उहाँ काठमाडौं जानुभयो,’ वडाध्यक्ष न्यौपानेले बताए ।

तिलागुफाका मेयर रतनबहादुर शाहीले पनि दर्शना अमेरिका पुगेपछि आफूसँग एकपटक मात्रै सम्पर्क गरेको र बिरामी भएकाले फर्कन नसकेको जानकारी गराएको बताए । शाही भन्छन्, ‘अहिले उपमेयर नेपालीको फेसबुक पनि निष्क्रिय छ । नगरपालिका संघमार्फत गोष्ठीमा सहभागी हुन भनी गत कात्तिकमा अमेरिका जानुभएको बुझेको छु । नगरपालिका संघले उहाँलगायत केही नगरपालिकाका मेयर– उपमेयरलाई अमेरिकाको एउटा गोष्ठीमा सहभागी गराएको हो । एक पटक उहाँले बिरामी छु । फर्कने तयारी गरिरहेको छु भन्नेसम्म जानकारी गराउनुभएको थियो । त्यसपछि उहाँ सम्पर्कमा हुनुहुन्न ।’

२०७४ बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रबाट दन्ता १ हजार ८ सय ४३ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी थिइन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी शाहीले १ हजार २ सय ६० मत ल्याएकी थिइन् ।