८ बैशाख २०८१, शनिबार
Follow Us

सपन राईको स्वर र मिरा राणाको संगीतमा ‘संगै जिउने संगै मर्ने..’ नयाँ गीत रेकर्ड

नेपालब्रिटेन डट कम्
९ माघ २०७६, बिहीबार १९:१८

लण्डन । वरिष्ठ गायिका मिरा राणा र गायक सपनकुमार राईको सहकार्यमा लण्डनमा एक नयाँ गीत रेकर्ड भएको छ ।

गायिका राणाको संगीतमा प्रमोद स्नेहीको रचना रहेको ‘संगै जिउने संगै मर्ने..’ बोलको आधुनिक गीत गायक राईको आवाजमा रेकर्ड गरिएको छ ।

गीत रेकर्डिंगका क्रममा शब्दहरुको सहि उच्चारण लगायतका प्राविधिक पक्षमा वरिष्ठ गीतकार / फिल्मकर्मी डा भोला रिजालले समेत सहयोग गरेका गायक राईले सुनाए ।

रेकर्डिंगपछि अहिले सम्पादनको क्रममा रहेको गीतलाई दुई साताभित्रै सार्वजनिक गरिनेछ । गीतको म्युजिक भिडियो भने तत्कालको लागि योजनामा छैन ।

गायक राईले यो गीतलाई ‘सेन्टिमेन्टल प्रेम गीत’ भनेका छन् । मिरा राणा जस्तो अग्लो उचाईको कलाकारसंगको यो सहकार्यबाट उनी निकै उत्साहित छन् ।

‘केहि समय पहिला मैले लण्डनकै कुनै स्टेजमा गाउँदै गर्दा मिरा राणा दिदीले नोटिस गर्नुभएको रहेछ’, गायक राईले भने, ‘अहिले उहाँले आफ्नै संगीत गर्नुभएको गीत मलाई गाउने मौका दिनुहुँदा मैले पुरस्कृत भएजस्तै महसुस गरेको छु ।’
लण्डन साउथहलस्थित ‘कुलजीत भमरा’ स्टुडियोमा गीत रेकर्ड गराइएको हो । जुन स्टुडियो जगजीत सिंह, पंकज उदास, कुमार सानु, सोनु निगमसहितका बलिउडका प्रख्यात गायकहरुले गीत रेकर्ड गर्ने ठाउँ हो ।

बेलायतमा एक सफल इभेन्ट अर्गानाइजर कम्पनीका रुपमा स्थापित सपन इन्टरटेनमेन्टका निर्देशक हुन् सपनकुमार राई । विभिन्न अवसर र कार्यक्रमहरुमा स्टेजहरुमा समेत नेपाली, हिन्दी गीत प्रस्तुत गर्दै आएका उनी यहाँका नेपालीमाझ एक कुशल गायकका रुपमा पनि परिचित छन् ।

अहिलेसम्म डेढ दर्जन बढि गीत रेकर्ड गराइसकेका गायक राईले ‘प्रतीक’, ‘सलुट’ र ;मिलेनियम सौगात’ लगायतका सांगीतिक एल्बम पनि सार्वजनिक गरिसकेका छन् ।