१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल एयरलाइन्सका २५ पाइलटद्वारा सामूहिक राजीनामा (पत्र सहित)

नेपालब्रिटेन डट कम्
१० माघ २०७६, शुक्रबार ०५:२७

काठमाडौँ । नेपाल एयरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

९० दिनको समयसीमा दिँदै उनीहरुले बिहीबार व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन् । व्यवस्थापनले नेपाली स्थायी कर्मचारीलाई काममा बढी लगाउने तर, विदेशीलाई कम काम लगाउने र सेवा सुविधा धेरै दिएको आरोप उनीहरुको गुनासो छ ।

‘३ महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने कि, नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने,’ पाइलटहरुले राजीनामा पत्रमार्फत व्यवस्थापनलाई २ विकल्प दिएका छन् ।

विदेशीले महिनामा ४६ घण्टामात्र जहाज उडाउँछन् भने नेपालीले महिनामा ९५ घण्टा जहाज उडाउने पाइलटहरु बताउँछन् । पाइलटहरुका अनुसार विदेशीले हप्तामा २ दिन छुट्टी पाउँछन् भने नेपालीले हप्तामा एकदिन मात्र छुट्टी पाउँछन् । त्यसमा कर पाइलट आफैले तिर्दै आएका छन् ।

विदेशीले महिनामा १५ लाख तलब पाउँछन् भने कर पनि व्यवस्थापनले तिरिदिएको छ । नेपालीले ५ लाख तलब मात्र पाउँछन् । नाम गोप्य राख्ने सर्तमा एक सिनियर पाइलटका अनुसार ४० जनामध्ये २५ जनाले राजीनामा दिएपनि थप ८–१० जनाले केही दिनमै व्यवस्थापनलाई राजीनामा बुझाउने तयारी भइरहेको छ ।