१३ बैशाख २०८१, बिहीबार
Follow Us

छोरी बलात्कार गर्नेलाई १८ वर्ष जेल

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७३, बिहीबार १२:१६

महेन्द्रनगर । धनुषा जिल्ला अदालतले नाबालिक छोरी बलात्कार गर्ने एक बाबुलाई १८ वर्ष जेल सजायको फैसला सुनाएको छ । पुर्पक्षका लागि विगत एक वर्षदेखि थुनामा रहेका उनलाई न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले सो सजाय सुनाएको हो ।

आरोपीले २०७२ साउनमा घरमै सुतेको अवस्थामा छोरीमाथि बलात्कार गरेका थिए ।

पीडित बालिकाले महिलाको हकहितमा काम गर्ने संस्था ओरेक नेपालको सहयोगमा आफ्नै बुबाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । आमाको मृत्यु भइसकेको ती बालिका ओरेकको संरक्षणमा जनकपुरमा बस्दै आएकी छिन् भने उनकी पाँच वर्षीया बहिनी पछिल्लो एक वर्षदेखि सम्पर्कविहीन छिन् ।

सो इजलासले बेपत्ता बालिकालाई खोजतलास गरी राज्यलाई जिम्मा लगाउन र पीडित बालिकालाई तत्काल हेटौँडास्थित बाल कल्याण गृहमा पठाउन पनि जिल्ला प्रशासन कार्यालयका नाममा आदेश जारी गरेको पीडिततर्फका कानुन व्यवसायी रोखा झाले बताउनुभयो ।

यसैबीच सोही इजलासले जनकपुरको थापा चोकमा भएको एक बालिका बलात्कारको मुद्दामा आरोपितलाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ ।

महोत्तरी हरिनमरीका रामदिनेश यादव नामका अभियुक्तले यही कात्तिक ७ गते बिहान एक कालिका बलात्कार गरेको उजुरीपरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।