८ बैशाख २०८१, शनिबार
Follow Us

नेपालका क्यान्सरपीडित बालबालिकाका लागि बेलायतबाट ‘१९ हजार पाउण्ड’ सहयोग

नेपालब्रिटेन डट कम्
१० माघ २०७६, शुक्रबार ०५:५६

लिभरपुल – बेलायतस्थित लिभरपुल नेपाली समाजले विभिन्न व्यक्ति र संस्थाबाट संकलित ११ हजार पाउण्ड ‘सो द चाइल्ड मे लिभ’ लाई हस्तान्तरण गरेको छ। लिभरपुलमा रहेको ‘एल्डर हे’ बाल अस्पतालका नर्स तथा डाक्टरहरुले स्थापना गरेको उक्त संस्थाले क्यान्सरपीडित बालबालिकाका क्षेत्रमा सहयाेग गर्दै आएकाे छ। उक्त स.स्थाले नेपालको कान्ति बाल अस्पताललाई समेत सहयोग गर्दै आइरहेको छ।

नेपाली समाजका प्रतिनिधिहरुले ८ हजार पाउण्ड संकलन गरेर त्यहाँको मेयर कहाँ पुगे। नेपालका क्यान्सर पीडित बालबालिकाका लागि उक्त रकम संकलन गरिएको थाहा पाएपछि मेयरले पनि आफ्नो कार्यालयबाट ३ हजार पाउण्ड थप गरिदिएका हुन्।

नेपाली समाजको तर्फबाट सल्लाहकारद्वय डा. शम्भू आचार्य र भक्त गुरुंग, अध्यक्ष देउमान इजम , उपाध्यक्ष नरेश बिष्ट, सचिव शिवराज पन्त र कोषाध्यक्ष हरिराम अर्यालको टोली १५ जनवरीमा मेयरको कार्यालय पुगेको थियो। मेयर कार्यालयको सहयोगसहित ११ हजार पाउण्ड पुगेको उक्त रकममा बेलायत सरकारले ८ हजार पाण्ड सहयोग गर्नेछ। योे सँगै उक्त रकम १९ हजार पाउण्ड पुग्ने नेपाली समाजका प्रतिनिधिहरुले बताएका छन्। क्यान्सरर पीडित बालबालिकाहरुको मृत्युदर घटाउन आवश्यक पर्ने सामाग्री तथा उपचारको लागिसहयोग गर्दै आएको ‘सो द चाइल्ड मे लिभ’ले यो वर्ष नेपाललाई सहयोग गर्दै छ।

लिवरपूल नेपाली समाजले विभिन्न ठाउँमा च्यारिटी डिनर तथा सांस्कृतिक कार्यक्रम गर्दै उक्त रकम संकलन गरेको जनाएको छ। उक्त कार्यक्रममार्फत संस्थाले लिवरपूलस्थित बिभिन्न व्यक्ति र संस्था हरुलाई आर्थिक सहयोग गर्न आव्हान गरेको थियो।

कार्यक्रममा बेलायतको बिभिन्न सहरमा बस्ने नेपाली, बेलायती तथा भारतीय नागरिकहरुको समेत उपस्थिति थियो। एनआरएनए युके, हेल्थ एक्सचेञ्च नेपाल, नेपलीज डाक्टर एसोसिएसनबाट समेत सहयोग प्राप्त भएको समाजले जनाएको छ। मर्सी स्कूल अफ एनेस्थेसिया, लिवरपूलले सबैभन्दा धेरै ५ हजार पाउण्ड सहयोग गरेको थियो।

‘सो द चाइल्ड मे लिभ’ का प्रतिनिधिहरुले यही जनवरी महिना भित्रै नेपाल ‘वल्र्ड चाइल्ड क्यान्सर’ संग सहकार्य शुरू गर्ने जनाइएको छ। विकसित मुलुक हरुमा क्यान्सर पीडितमध्ये ८० प्रतिशतसम्म बालबालिका बाँच्न सक्छन् भने नेपाल लगायत विकासोन्मुख मुलुकमा पीडितमध्ये १० प्रतिशत मात्र बाँच्न सफल हुन्छन्। यही तथ्यांकलाई मध्य नजर गर्दै च्यारिटी संस्था ‘वल्र्ड चाइल्ड क्यान्सर’ ले पिछडिएका मुलुकहरुमा सहयोग अभियान शुरू गरेको हो। यो अभियान को नाम ‘क्लोज द क्यान्सर ग्याप’ हो। यस अभियान अन्तर्गत नेपालका सातै प्रदेशका क्यान्सर पीडित बालबालिकालाई सहयोग गर्ने लक्ष्य राखिएको छ।