१५ बैशाख २०८१, शनिबार
Follow Us

असन्तुष्टलाई सम्बोधन गरेरै संविधान कार्यन्वयन : प्रम

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७३, बिहीबार १२:२१

कपिलाकोट । प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्ट पक्षको माग सम्बोधन गरेर संविधान कार्यान्वयन गरिने बताउनुभएको छ । सिन्धुलीको कल्पवृक्ष र कपिलाकोट गाविस जोड्ने पक्की पुलको शाहानमा आज शिलान्यास गर्दै उहाँले मधेसी, जनजाती, थारु, आदिवासीलगायतको माग सम्बोधन गरी संविधान कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको दोहो¥याउनु भयो ।
प्रधानमन्त्रीले संविधान कार्यान्वयन, तीन तहको निर्वाचन, पुनःनिर्माणलाई तीव्रताका साथ सम्पन्न, युवालाई रोजगार, किसानलाई पेन्सन, कृषि क्षेत्रमा आधुनिकीकरण लगायतका क्षेत्रमा काम गर्न निरन्तर लागिपरेको बताउनुभयो ।
नेपालको आर्थिक समृद्धि कृषिमा प्रगति नगरी सम्भव नभएको भन्दै प्रधानमन्त्री दाहालले अब देशका हरेक प्रदेशमा एक कृषि क्याम्पसको अवधारणा आफूले लिएको उल्लेख गर्नु भयो ।
सिन्धुलीका भूकम्पपीडितले राहत नपाएको गुनासो आफूसमक्ष आएको भन्दै प्रधानमन्त्री दाहालले अबको केही दिनमा नै पीडितले राहत पाउने बताउनुभयो । वास्तविक कतिपय पीडित छुटेको गुनासोको सुनुवाइ गर्नका निम्ति आफूले सम्बन्धित व्यक्तिलाई निर्देशन दिइसकेको उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहाललाई सिन्धुलीका प्रमुख तीन राजनीतिक दलले सिन्धुलीमा आवश्यक विषयवस्तु समावेश गरेर माग पत्र बुझाएका थिए । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त प्रयासमा सिन्धुलीको कपिलाकोटको कोखाजोर १३ मेगावाट विद्युत् आयोजना निर्माण, ग्रामीण विद्युतीकरण, सिँचाइमा सुनकोसी मरिण डाइभर्सन, मरिण चदाँहा, कमला नदी तथा चुरे नियन्त्रण, पर्यटन क्षेत्रको विकास र पूर्वाधार निर्माण लगायतका विषयवस्तु समावेश गरेर माग पत्र बुझाइएको थियो ।

विसं २०७३ असार ९ गते ठेक्का लागेको पुल विसं २०७६ पुस २८ गते निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । रसुवा तुत्दी जेभी काठमाडौँले निर्माणको जिम्मा पाएको पुलका लागि सरकारको कुल रु ४३ करोड ५० लाखको लागत रहनेछ ।

मरिण क्षेत्रका जनताले झोलुङ्गे पुल माग गरे पनि मरिणको विकासका लागि पक्की पुलको शिलान्यास गरिएको क्षेत्र नं ३ का सांसद हरिबोल गजुरेलले बताउनुभयो । उहाँले मरिणका जनता सधैँ जोखिममा रहेको बताउँदै अबको केही वर्षमा पुल निर्माण कार्य सम्पन्न भएपछि यस भेगको विकास हुने बताउनुभयो ।