१४ बैशाख २०८१, शुक्रबार
Follow Us

च्यारिटीका नाममा पत्रकार महासंघ वेलायतले उठाएको ३१ लाख रुपैयाँ फ्रिज

नेपालब्रिटेन डट कम्
१२ माघ २०७६, आईतवार २०:४४

कार्यकाल सकिन लाग्दा पनि बैंक खाता सरेन

लण्डन । नेपाली पत्रकार महासंघ यूके शाखाले च्यारीटीको नाममा संकलन गरेको २१ हजार पाउण्ड (करिब ३१ लाख रुपैयाँ) विगत अढाई वर्ष देखी प्रयोगमा नल्याइदा फ्रिज भएको भेटिएको छ ।

महासंघको आयोजनामा २१ मे २०१७ मा वेलायतस्थित नेपाली समुदायवाट आपतकालिन कोषका नाममा संकलित रकमको कार्यविधी तय गर्न नसक्दा महासंघको खातामै सो रकम फ्रिज भएको हो ।

नेपाल पत्रकार महासंघ वेलायतको शनिवार सम्पन बैठकमा अध्यक्ष नरेश खपांगीले च्यारिटी खातामा करिब २१ हजार पाउण्ड रहेको बताए । उक्त रकम ट्रस्टी संयोजक सुर्य गुरुङ्ग र आफ्नो नाममा रहेको बैंक खातामा रहेको उनले जानकारी गराएका थिए ।

यस्तै महासंघको निर्वाचन सम्पन्न भएको २ वर्ष पुग्न लाग्दा खाता समेत नयाँ कोषाध्यक्ष र महासचिवको नाममा ट्रन्फर नभएको भेटिएको छ । बैठकमा अध्यक्ष खपांगीले निवर्तमान समितिबाट वर्तमान कार्यसमितिका महासचिव र कोषाध्यक्षको नाममा बैंक खाता सार्ने प्रक्रियामा समयभित्रै सबै कागजात बुझाउन नसक्दा रोकिएको जानकारी दिएका थिए ।

अध्यक्ष नरेश खपांगी मगरले संस्थाको आर्थिक अवस्था, च्यारिटी दर्ताको प्रक्रिया लगायतका विषयमा कार्यसमितिलाई जानकारी गराए । अहिले प्रक्रियामा रहेको च्यारिटी दर्ताको कार्यले आउँदो फेब्रोअरीसम्ममा पनि ठोस गति नलिए वैकल्पिक बाटो खोज्नुपर्ने विषयमा छलफल गरिएको वताएको छ ।

बैठकले आउँदो तीन महिनाभित्रै पश्चिम लण्डनमा साधारणसभा गर्ने निर्णय गरेको छ । साधारणसभाको लागि उपयुक्त भेन्यू र मिति निर्धारण गर्न उपाध्यक्ष विमला सेनेको संयोजकत्वमा त्यस क्षेत्रमा बस्ने कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई जिम्मा लगाइएको छ ।

संस्थाको नयाँ सदस्यता वितरण तथा नविकरणको सन्दर्भमा सल्लाहकार भगिरथ योगीको संयोजकत्वमा गठित समितिले पेश गरेको सुझावलाई समेटेर साधारणसभामा सदस्यता वितरणसम्बन्धी एक प्रस्ताव लैजाने निर्णय गरिएको छ ।

साथै निवर्तमान कार्यसमितिबाट वर्तमान कार्यसमितिका पदाधिकारीमा बैंक खाता सार्न महासचिव र कोषाध्यक्षले तत्काल आवश्यक काम अघि बढाउने निर्णय गरिएको छ ।

महासचिव सञ्जयभक्त कँडेलले शाखाका सदस्यहरुको अन्तर्राष्ट्रिय प्रेस पासको लागि भइरहेको पहलबारे जानकारी गराए । पहिलो चरणमा कम्तीमा कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई सो पास व्यवस्था गर्न पहल गर्ने निर्णय बैठकले गरेको छ ।

लामो हानथाप र विवादका बीच सम्पन्न भएको महासंघको चौथो महाधिवेशन पछि चौथो पटक बसेको कार्यसमिति बैठकमा उपस्थिती भने न्युन रहेको थियो ।

२३ जनाको कार्यसमिति रहेको महासंघको शनिवार सम्पन्न बैठकमा ७ जनाको मात्र उपस्थिती थियो । कार्यसमिति बैठकमा लगातार तीनपटकसम्म अनुपस्थित पदाधिकारी एवम सदस्यहरुलाई सचेत गराउन पत्राचार गर्ने निर्णय महासंघले गरेको छ ।