१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतमा तामाङ समुदायले मनाए सोनाम ल्होसार

नेपालब्रिटेन डट कम्
१३ माघ २०७६, सोमबार ००:५८

लन्डन । तामाङ समाज यूकेले शनिबार आफ्नो महान सांस्कृतिक पर्व ‘२८५६ औं जीवा सोनाम ल्होसार’ मनाएको छ । लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा कार्यक्रम गरि ल्होसार मनाइएको हो ।

तामाङ समाज यूकेका अध्यक्ष कुमार स्याङतान तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले ल्होसारको शुभकामना दिंदै संघले गैर आवासीय नेपाली नागरिकताका कानूनी प्रावधानबारे सम्बन्धित सरकारी निकायलाई झक-झकाइरहेको जनाइन् । उनले एनआरएनए यूके बेलायतस्थित विभिन्न संघसंस्थासंग हातेमालो गरेर अगाडि बढ्ने पनि बताइन् ।

शुभकामना मन्तव्यका क्रममा समाजका सल्लाहकार धन पाख्रिन तामाङले बेलायतमा तामाङ जाती उल्लेख्य नरहे पनि फरक फरक स्थानमा ल्होसार मनाइनु बिडम्बना भएको बताउंदै आगामी वर्ष सबै एकजुट भएर सांस्कृतिक पर्व मनाउन अनुरोध गरे ।
समाजका अध्यक्ष कुमार स्याङतान तामाङले कार्यक्रममा सहभागी सबै अतिथी, प्रायोजक एवं स्वयंसेवकप्रति कृतज्ञता व्यक्त गर्दै समाजले बेलायतमा तामाङ जातीको कला संस्कृति, धर्म, चाडपर्व, रितिरिवाज आदिलाई अनुशरण गर्दै आएको स्मरण गरे ।

उनले ल्होसार शुभकामना दिंदै तामाङ समुदायले माघ शुक्ल प्रतिपदाको दिन मनाउने सोनाम ल्होसारको सांस्कृतिक पक्षबारे पनि अवगत गराएका थिए ।

कार्यक्रममा म्हेन्दो माया परिवारका अध्यक्ष हरिसिंह गुरुङ, होल्मो सोसाइटी यूके महासचिव दोर्जे डान्डुल शेर्पा, तमु प्ये ल्हु संघ यूकेका वरिष्ठ उपाध्यक्ष रणबहादुर गुरुङ, तमुधिं यूकेका पूर्व अध्यक्ष कमल गुरुङ, आइएमइ लन्डनका निर्देशक कमल पौडेल, लामा गुरु मिङमार तामाङ, समाजसेवी आङकल्जङ लामा लगायतको उपस्थिति थियो ।

उमा डुम्जन तामाङले सञ्चालन गरेको उक्त कार्यक्रममा समाजका वरिष्ठ सल्लाहकार जित लामा पाख्रिनले स्वागत मन्तव्य दिएका थिए ।

सो अवसरमा सिन्का माया तामाङ, सिमा ब्लोन र ज्ञानु तामाङले स्वागत गीत प्रस्तुत गरेका थिए भने नयां ल्होसार गीतमा सानु स्याङ्बो र अनु तामाङले नृत्य गरे । उनीहरुले अर्को ‘रिमिक्स’ गीतमा पनि आफ्नो नृत्य कला देखाए । कार्यक्रममा अमृत गुरुङ लामाले ‘कुवाको पानी’, ‘हेलम्बुको बजारमा…’ जस्ता सुमधुर गीत गाएका थिए ।

कार्यक्रममा नेपालबाट आएका कलाकारहरु सानु वाइवा र रमला पाख्रिनले म्हेन्दो माया र अन्य कयौं गीत गाएर दर्शकलाई मनोरन्जन दिलाए । चांद म्यूजिकका विशाल तामाङ लगायत टिमले डिजे प्रस्तुत गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले कलाकार, प्रायोजक र स्वयंसेवकहरुलाई प्रशंसापत्र प्रदान गरेकी थिइन् । औपचारिक कार्यक्रमअघि लामा गुरु मिङमार तामाङबाट पूजा भएको थियो ।

तस्विर: अशोककुमार राई