७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘कानुनअनुसार हुने कारवाही स्वीकार गर्छु’: आस्था राउत (भिडियो)

नेपालब्रिटेन डट कम्
१३ माघ २०७६, सोमबार ०७:५०

काठमाडौँ । अभद्र व्यवहार मुद्दामा प्रहरीको नियन्त्रणमा रहेकी गायिका आस्था राउतसँग प्रहरीले बयान लिएको छ । बयानपछि राउतलाई सरकारी वकिल कार्यालय लगिएको छ ।

सरकारी वकिल कार्यालय जाने क्रममा राउतले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै कानुनभन्दा माथि कोही पनि नरहेको र कानुनअनुसार आफूलाई हुने कारवाही सहर्स स्वीकार गर्ने बताइन् ।

उनले भनिन्, ‘कानुनलाई सहयोग गर्न आएकी हुँ । वहाँहरुले सौहार्दपूर्ण वातावरणमा आफ्नो कुराहरु राख्न दिनुभयो । कानुनभन्दा माथि कोही पनि छैन । कानुनअनुसार ममाथि के कारवाही हुन्छ त्यो सहर्स स्वीकार गर्छु । कानुनलाई कसैले नमिचौँ भन्न चाहन्छु ।’

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवान रमिशा श्रेष्ठले गायिका राउतले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।

माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् ।

भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् । पछि विमानस्थलको सीसीटिभी भिडियो नै मिडियामार्फत सार्वजनिक गरेको प्रहरीले राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको थियो । सोहीअनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको थियो ।