१५ चैत्र २०८०, बिहीबार
Follow Us

एमालेका मधेसी सांसद संशोधनका पक्षमा

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७३, शुक्रबार ०२:३२

काठमाडौं । पार्टीको आधिकारिक धारणाविपरीत मधेसबाट निर्वाचित अधिकांश एमाले सांसदहरू संविधान संशोधनका पक्षमा देखिएका छन् । एमाले स्थायी समितिले आइतबार पार्टी संशोधनका विपक्षमा रहने निर्णय गरेको थियो । पार्टीको यो निर्णयपछि एमालेका मधेसी मूलका सांसदहरूले अनौपचारिक छलफल सुरु गरेका छन् । यो खबर आजको अन्नपूर्णबाट लिएका हौ।

संशोधनलगायत विषयमा छलफल गर्न प्रदेश नं. २ का मधेसी मूलका सांसद तथा प्रदेश पार्टी नेताको बैठक १३ र १४ गते सर्लाहीको हरिवनमा तय गरिएको छ । भेलामा मधेसी सांसदहरूले राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्तालाई आधार मानी संशोधन हुनुपर्ने विषयमा केन्द्रित हुने विषयलाई प्रमुखता साथ उठाउने तयारी गरेका छन् ।
एमालेको निर्णय मधेस र मधेसीविरोधी हुन नहुने, मधेसका समस्याको निकास एमालेकै नेतृत्वमा हुनुपर्नेलगायत विषयमा छलफल गर्न बैठक आयोजना गरिएको जानकारी स्रोतले दिएको छ । २ नं प्रदेशका एमालेका एक शीर्ष नेताले अन्नपूर्णसँग भने, ‘एमाले स्थायी समितिको आइतबारको निर्णय मधेसी मूलका नेतालाई त्यस क्षेत्रको राजनीतिबाट विस्थापित गर्नुमात्र हो ।

नेतृत्व सुनियोजित रूपमा मधेस र मधेसीविरोधी भएको सन्देश अन्त्य गराउन पनि भेला महत्वपूर्ण हुनेछ ।’ उनले पार्टीलाई विधिवत् रूपमा संशोधन प्रस्तावका पक्षमा निर्णय लिने वातावरण बनाउने बताए । संविधानलाई मधेस, पहाड र हिमालको सर्वसम्मत राजनीतिक ‘डकुमेन्ट’ बनाउन पनि आफूहरूले पार्टीलाई दबाब दिने तयारी गरेको उनले बताए ।उनका अनुसार बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेतालाई सरकारले ल्याउने संशोधनबाट मधेसीको माग सम्बोधन गराउन दबाब दिने ढंगले प्रस्तुत हुन प्रेरित गर्नेछ ।

संशोधनलगायत विषयमा एमालेका मधेसी सांसदले महासचिव ईश्वर पोखरेललाई भेट गरी मधेसका मुद्दामा पार्टी गम्भीर भएर संशोधनमा निर्णायक भूमिका निर्वाह गर्न आग्रह गरिसकेका छन् । महासचिव पोखरेलसँगको भेटमा शत्रुघ्न महतो, आशाकुमारी यादव, कमलादेवी महतो, नागेन्द्रप्रसाद थारू, राजकुमार गुप्ता, जयप्रकाश थारू, जुनदेव अन्सारी, बलरामप्रसाद चौधरी, रामअवतार पासवान, रामचन्द्र साह तेलीलगायत सांसद सहभागी थिए ।

एमाले वैकल्पिक पोलिटब्युरो सदस्य एवं सांसद शत्रुघ्न महतोले संविधान संशोधनमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरी मधेस र मधेसीको समस्या हल गर्ने मान्यताका साथ १३ र १४ गते सर्लाहीमा प्रदेश नं. २ को भेला हुन लागेको जानकारी दिए ।उनले अन्नपूर्णसँग भने, ‘प्रदेश नं. २ ले संविधान संशोधनको एजेन्डा नै बनाएर लग्नेछ । मधेस समस्यालाई राष्ट्रिय मुद्दा बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ संशोधनको औचित्य पुष्टि गर्न माग गर्दै आएको एमालेले एकाएक अहिले संशोधन आवश्यक छैन भन्नु ठीक नभएको उनले बताए ।
– अन्नपूर्ण पोष्टबाट