७ बैशाख २०८१, शुक्रबार
Follow Us

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा. रेग्मी नियुक्त

नेपालब्रिटेन डट कम्
१४ माघ २०७६, मंगलवार १९:४६

लन्डन । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा. धनन्जय रेग्मी नियुक्त भएका छन् । पर्यटन मन्त्रालयका सचिव केदारवहादुर अधिकारी संयोजकत्वको छनौट समितिले छानेका तीन उम्मेदवारमध्ये एक नम्बरमा रहेका रेग्मी मंगलबार कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

बोर्डको मंगलबार बसेको बैठकले छनौट समितिको सिफारिस बमोजिम सबैभन्दा धेरै अंक ल्याएका रेग्मीलाई सर्वसम्मत रुपमा नियुक्त गरेको हो । एक साताअघि नै छनौट समितिले सिफारिस गरे पनि केही दिन नियुक्ति रोकिएको थियो ।

स्याङ्जाका स्थायी बासिन्दा रेग्मी जलवायु परिवर्तन तथा हिमतालहरुको अध्येता हुन् भने उनी पर्यटन क्षेत्रका पनि विज्ञ हुन् । छनौट समितिले सिइओका लागि प्रतिस्पर्धा गरेका ९ जनामध्ये लिखित र मौखिक परीक्षापछि उनीसहित हिक्मत ऐर र दिपक बस्ताकोटीलाई छनौट गरेको थियो ।

रेग्मीले नेपालको समग्र पर्यटन उद्योगको विकासका लागि योजना बनाएर काम गर्ने भन्दै तत्कालको प्राथमिकता भ्रमण वर्ष २०२० लाई सफल बनाउनु रहेको प्रतिक्रिया दिए । उनले आफू पर्यटन बोर्डमा काम गरेर देखाउन आएको र अरु कुनै लोभलालच नरहेको समेत प्रष्ट पारे ।

चार वर्षका लागि बोर्डको कार्यकारी अधिकृतमा नियुक्त भएका रेग्मी पर्यटन तथा वातावरण अभियन्ता हुन् । उनले अर्थ साइन्समा जापानबाट विद्यावारिधि गरेका छन् भने अमेरिकी विश्वविद्यालयमा पनि अध्ययन गरेका छन् । उनले भूगोल विषयको शिक्षकका रुपमा बुढानिलकण्ठ स्कूलमा अध्यापन गराएका थिए ।

रेग्मीले हिमालयन क्लाइमेट सेन्टरमा समेत काम गरेका छन् । पछिल्लो समय वातावरण तथा जलवायु परिवर्तनको क्षेत्रमा काम गरिरहेका रेग्मी आफ्नै ब्यापार व्यवसायमा संलग्न थिए । जियोग्राफी (भूगोल) का विज्ञ उनले त्रिभुवन विश्वविद्यालयमा पनि प्राध्यापन गरेका छन् । रेग्मी अटोमोबाइल, पर्यटन तथा होटल क्षेत्रका प्रतिष्ठित व्यवसायी हुन् ।

रेग्मीको नियुक्तीलाई बेलायतका एक युवा पर्यटन व्यवसायी बिराज भट्टले सरकारको स्वागत योग्य कदम भनेका छन् । नेपाल भ्रमण २०२० घोसणा भैसकेको अवस्थामा सरकारले गरेको निर्णय उपयुक्त समयमा आएको उनले बताए ।

ट्राभल कन्सोल युकेका प्रबन्ध निर्देशक समेत रहेका भट्टले प्रमुख कार्यकारी अधिकृतसंग मिलेर काम गर्न उत्साहित रहेको बताए । उनले रेग्मीको नियुक्ति पर्यटन क्षेत्रको लागि कोशेढुंगा साबित हुने विश्वास ब्यक्त गरे ।