१३ बैशाख २०८१, बिहीबार
Follow Us

बिश्व रेकर्ड राख्दै कालापत्थरमा ‘फेशन शो’ (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१५ माघ २०७६, बुधबार ०५:३२

सोलुखुम्बु । माउन्ट एभरेस्ट फेसन रनवेले कालापत्थरमा फेसन शो २०७६ सम्पन्न गरी विश्व कीर्तिमान कायम गरेको छ। आइतबार सोलुखुम्बुको कालापत्थरमा आयोजित फेसन शो विश्वकै उच्च स्थानमा गरिएको भन्दै आयोजक संस्थाले गिनिजबुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गरी नयाँ रेकर्ड राख्न सफल भएको हो।

सो कार्यक्रम समुन्द्री सतहबाट पाँच हजार छ सय त्रिचालिस मिटरको उचाईमा आयोजना गरिएको हो। फेसन शोमा आठ नेपाली, एक फिनल्यान्डकी, पाँच इटालीकी, एक श्रीलंकाकी र एक सिङ्गापुरका गरी पाँच देशका मोडलहरूले सहभागिता जनाएका थिए।

कार्यक्रमको मुख्य उद्धेश्य उच्च स्थानमा आयोजना गरी जलवायु परिवर्तनको असरबारे जनचेतना जगाउनु र नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई सघाउ पुर्याउने उद्देश्यले आयोजना गरीएको पर्यटन बोर्डले जनाएको छ। कार्यक्रम आयोजना गर्न ४८ जनाको टोली गत जनवरी १८ तारिखमा लुक्लाबाट कालापत्थरका लागि पैदल हिँडेका थिए।

पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका सिइओ नन्दिनी लाहे थापा, विश्वाम्बर घिमिरे, गिनिज वर्ल्ड रेकर्डका अधिकारी समेतले कार्यक्रममा सहभागिता जनाएका थिए। यस शोमा सबै प्राकृतिक, अर्गानिक र नेपालबाट उत्पादित फेसन सामग्री देखाइएको आयोजक कमिटिले जनाएको छ ।

उक्त बिश्वको अग्लो ठाउँमा भएको फेशन सो २०७६ सम्पन्न गरी सहभागीहरु जनवरी ३० तारिखमा काठमाडौं आइपुग्ने बताइएको छ।