१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गोरखा नगरपालिका र रश्मोर भगिनी सम्बन्ध जोड्न मेयर लण्डनमा

नेपालब्रिटेन डट कम्
१५ माघ २०७६, बुधबार १७:०७

लण्डन । गोरखा नगरपालिकाका मेयर राजनराज पन्त बेलायत आइपुगेका छन् ।
बेलायतमा सबैभन्दा धेरै नेपालीको बसोबास रहेको रश्मोर बरो काउन्सिलसंग नगरपालिकाको भगिनी सम्बन्ध स्थापनाको सम्झौता गर्न मेयर पन्त बेलायत आएका हुन् ।

मेयर पन्तसंगै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ र नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा बुधबार बिहान लण्डनको हिथ्रो विमानस्थल उत्रिए ।

उनीहरुलाई लण्डनस्थित नेपाली दूतावासका तृतीय सचिव तेजेन्द्र रेग्मी, ग्रेटर रश्मोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्वासे र रश्मोर काउन्सिलका डेमोक्रेसी स्ट्रयाटेजी एण्ड मेनेजमेन्ट विभागका प्रमुख एन्ड्रयु कोल्भरले स्वागत गरेका थिए ।

रश्मोर काउन्सिल र गोरखा नगरपालिकाबीच विहिबार साँझ काउन्सिलको कार्यालयमा एक औपचारिक समारोहमाझ भगिनी सम्बन्ध स्थापनाको सम्झौतामा हस्ताक्षर हुनेछ ।

सोहि खुशीयालीमा शुक्रबार साँझ लण्डनस्थित नेपाली दूतावासमा समेत एक कार्यक्रम आयोजना गरिंदैछ । जसमा बेलायतका विभिन्न क्षेत्रका मेयर, काउन्सिलरसहितका जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकायका अधिकारी समेतको सहभागिता रहने बुझिएको छ ।

ग्रेटर रश्मोर नेपालीको पहल र नेपाली दूतावास समेतको समन्वयमा रश्मोर र गोरखा नगरपालिकाबीच यो सम्बन्ध जोडिन लागेको हो ।

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा यस वर्ष बेलायतका अरु केहि काउन्सिल र नेपालका नगरपालिका तथा गाउँपालिकाबीच पनि भगिनी सम्बन्ध स्थापना गर्ने योजना छ ।