१२ बैशाख २०८१, बुधबार
Follow Us

डायस्पोराका सर्वोत्कृष्ट नायक ध्रुव दत्त

नेपालब्रिटेन डट कम्
१५ माघ २०७६, बुधबार १९:२४

लण्डन । बेलायतमा बस्दै आएका अभिनेता ध्रुव दत्तले आफ्नो पछिल्लो चलचित्र ‘उल्झन’बाट एक अवार्ड जितेका छन् । हालै धनगढीमा सम्पन्न दोस्रो पिआईएम नेपाल फिल्म फेस्टिबल २०१९ मा दत्तलाई उक्त अवार्ड दिइएको हो । प्रवासमा रहेका अभिनेताहरुमध्येको सर्वोत्कृष्ट रुपमा ‘डायस्पोरा बेस्ट एक्टर अवार्ड’ दत्तले पाएका हुन् ।

चलचित्र उल्झनले सर्वोत्कृष्ट निर्देशक र सर्वोत्कृष्ट कथाको जुरी अवार्ड पनि पाएको छ । विदेशमै बसेर पनि १ दर्जन बढि नेपाली चलचित्रमा मुख्य अभिनेताको रुपमा काम गरिसकेका दत्तले अवार्डको लागि आयोजकलाई धन्यवाद दिएका छन् । यसरी प्राप्त हुने सम्मान र अवार्डले यस क्षेत्रमा अझै बढि काम गर्न सकौं जस्तो लाग्ने उनको भनाइ छ ।

१० वर्षदेखि बेलायत बस्दै आएका दत्त नेपाली चलचित्रहरुमा निरन्तर अभिनय गर्दै आएका छन् । तीन ‘घुम्ती’, ‘आवेग’, ‘उल्झन’सहितका एक दर्जन चलचित्रमा शीर्ष भुमिका निभाएका उनले सहायक भुमिकामा कैयौं चलचित्र र नाटकहरुमा समेत अभिनय गरेका छन् । अभिनेता दत्त एक ‘सर्ट मुभि’ प्रोजेक्टका लागि यहि साता बेल्जियमतर्फ लाग्ने योजनामा छन् ।