१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विश्व स्वास्थ्य संगठनद्वारा स्वास्थ्य सङ्कटकाल घोषणा

नेपालब्रिटेन संवाददाता
१७ माघ २०७६, शुक्रबार ०४:३५

न्यूयोर्क । कोरोना भाइरसको प्रकोप चीनसहित अन्य मुलकमा तीव्र गतिमा फैलन थालेपछि विश्वव्यापी रुपमा आपतकाल घोषणा गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा यसको प्रकोप महामारीका रुपमा फैलिन सक्ने भय रहेको छ । दुई सय जनाभन्दा बढीको ज्यान लिइसकेको सो सङ्क्रमणलाई विश्वव्यापी सङ्कट घोषणा गर्नुपर्नाको मुख्य कारण चीनबाहिर त्यसको सम्भाव्य फैलावट रहेको बताइएको छ।

चिनियाँ अधिकारीहरूले उक्त सङ्क्रमणका कारण मृत्यु हुनेको कम्तीमा पनि २१३ पुगेको पुष्टि गरिसकेका छन् । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रियसले उक्त घोषणा गर्नुका पछाडि मुख्य कारण चीनबाहिर यसको अवस्थालाई लिएर भएको बताएका छन् । विश्व आपतकालीन अवस्था घोषणा गर्नुको कारण चीनमा के भैरहेको छ भन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा बढी केन्द्रित रहेको उनको भनाइ छ ।

चीनको हुबेइ प्रान्तको वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण हाल चीन बाहेक कम्तिमा १८ देशमा पुगेको छ । नेपाल, अमेरिका, फ्रान्स, जर्मनी, थाइल्याण्डसहितका देशमा पनि संक्रमण भेटिएको छ । भारतको केरलामा पनि पहिलोपटक कोरोना संक्रमित फेला परेको बताइएको छ ।

कमजोर देशमा भयावह हुन सक्छ
विश्व स्वास्थ्य सङ्गठनले कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकहरूमा यो भाइरस छिटो फैलिन सक्ने त्रास रहेको बताएको छ । बिबिसीका अनुसार अहिले ९९ प्रतिशत सङ्क्रमणका घटना चीनभित्र नै पाइएको र चीनले तिनलाई नियन्त्रण गर्नेमा डब्ल्यूएचओ विश्वस्त रहेको बताइएको छ ।

यद्यपि यो भाइरस चीनबाहिर पनि फैलिरहेको हुँदा कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकमा फैलिएमा अवस्था झन भयावह हुन सक्ने चिन्ता बढिरहेको छ । यसै कुरालाइ ध्यानमा राखी डब्लुएचओले विश्वव्यापी आपतकाल घोषणा गरेको हो । जसकारणा डब्ल्युएचओले निम्न तथा मध्यम आय भएका मुलुकहरूमा सङ्क्रमणको निरीक्षण र नियन्त्रणमा सघाउन सक्ने बताइएको छ ।

यो घोषणाको अर्थ अब सबै देशलाई सङ्क्रमण फैलिन रोक्न कडिकडाउ नियन्त्रणका उपाय अपनाउन आह्वान गरिएको जस्तै हो । डब्ल्यूएचओले चीनले अपनाएका उपायको प्रशंसा गर्दै उसले सङ्क्रमण नियन्त्रण गर्न असाधारण उपाय अपनाइरहेको समेत बताएको छ ।

एक साताअघि सम्म चीनमा १७ जनाको मृत्यु भएको थियो भने करिब ५०० जनामा संक्रमण देखिएको थियो । तर एक सातामै अहिले सङ्क्रमण र मृत्युको संख्या झण्डै दशगुना बढेको छ । हाल ८ हजार जनामा यो भाइरसको सङ्क्रमण पुगेको अनुमान गरिएको छ ।