६ बैशाख २०८१, बिहीबार
Follow Us

राप्रपाद्वारा सरकार र दलहरुप्रति हमला

नेपालब्रिटेन डट कम्
१७ माघ २०७६, शुक्रबार ०७:४८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेकपा नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । यस्तै अहिलेको दलहरुको विकल्प जनताले खोजेको पनि सो पार्टीले जनाएको छ।
शुक्रबारदेखि सो पार्टीको काठमाडौँमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाले पेश गरेको राजनीतिक कार्यपत्रमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालिएको हो ।

नयाँ संविधान बमोजिम निर्वाचन भएपछि शान्ति र स्थायित्व कायम भइ देश आर्थिक विकास र समृद्धिको बाटोमा अग्रसर जनताले आशा गरेको भएपनि कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षा अनुरुप काम गर्न नसकेको सो पार्टीको ठहर छ ।
राप्रपाले धर्मनिरपेक्षताको आडमा फैलिएको धर्मपरिवर्तनको डढेलोलाई समय मै नियन्त्रण गर्न नसकिए देश धार्मिक द्वन्द्वमा फस्नसक्ने चेतावनी समेत दिएको छ ।
‘पछिल्लो तथ्यांक अनुसार तिव्र गतिमा समाजको ईशाईकरण हुने देशहरुमा नेपाल पहिलो नम्बरमा रहेको छ । धर्मनिरपेक्षताको आडमा फैलिएको धर्मपरिवर्तनको डढेलोलाई समय मै नियन्त्रण गर्न नसकेमा यसले अन्तत्वगत्वा नेपालको राष्ट्रिय पहिचानलाई समाप्त पार्ने, सामाजिक सांस्कृतिक सदभाव र एकता खलबल्याउने र देशलाई गंभीर धार्मिक द्वन्द्वमा फसाउने टड्कारो संभावना देखिन्छ’, थापाको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

राप्रपाले प्रायः सबै प्रमुख दलहरु आफ्नो सिद्धान्तबाट विचलित भएको दावी गर्दै भनेको छ, ‘पूर्वाग्रह रहित भै ईमान्दारीपूर्वक विष्लेषण गर्ने हो भने तत्कालीन माओवादी, एमाले र कांग्रेस सबै आ(आफ्ना स्थापनाकाल र संघर्षकालका मान्यता, विश्वास र सिद्धान्तबाट विमुख र विचलित भैसकेका छन्। जुन सिद्धान्त र आस्थाको निमित्त दलमा सहभागी भएका थिए, संघर्ष गरेका थिए र जीवन उत्सर्ग गरेका थिए ती मान्यतामा कुनै पनि दल र नेताहरु टिक्न सकेका छैनन्।’
पार्टीहरुमा वैचारिक अडानमा ह्रास आएको समेत राजनीतिक प्रतिवेदनमा भनिएको छ ।