६ बैशाख २०८१, बिहीबार
Follow Us

डीनसहित १० थुनिए

नेपालब्रिटेन संवाददाता
१७ माघ २०७६, शुक्रबार १३:३०

भरतपुर । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले कृषि तथा वन विज्ञान विश्वविद्यालयको वन सङ्कायका डीनसहित १० जनालाई विश्वविद्यालयकै सेमिनार हलमा थुनेर तालाबन्दी गरेका छन् । उनीहरुले डीन बलराम भट्ट, सहायक डीन वासुदेव पोख्रेल र भर्ना छनोट समितिका सदस्यसहितलाई थुनेका हुन् ।

विश्वविद्यालयले मेरिट पूर्व जानकारी बिनानै प्रवेश परीक्षा लिएको र परीक्षामा कम अङ्क आएकालाई भर्ना लिएर बढी अङ्क ल्याउने विद्यार्थीलाई निजी विद्यालयमा जान बाध्य बनाएको अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष अङ्कित खतिवडाले बताउनुभयो । चालीस दिनदेखि धर्ना दिएर आन्दोलन गर्दै आएको बताउँदै विद्यार्थीको समस्या समाधानका लागि विश्वविद्यालयको तर्फबाट कुनै पहल नभएपछि आज डीनसहितको टोलीलाई तालाबन्दी गरेर राखेको उहाँको भनाइ छ ।

समस्या समाधानका लागि पहल चाल्ने प्रतिबद्धताका आधारमा मात्र ताला खोली दिने अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष दिपेन्द्र कोइरालाले बताउनुभयो । डीनसहितको मिलेमतोमा पैसाको चलखेलका आधारमा विद्यार्थीलाई भर्ना लिइएको उहाँको आरोप छ ।