७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालमै पहिलो पटक ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन–२०२०’ हुँदै

नेपालब्रिटेन डट कम्
१७ माघ २०७६, शुक्रबार १५:०५

काठमाडौँ । नेपालमै पहिलो पटक ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन–२०२०’ हुने भएको छ । उपत्यका नगरपालिका फोरम, काठमाडौँले नेपालमै पहिलो पटक यस्तो सम्मेलन गर्न लागेको हो । उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख, उप–प्रमुखहरु संलग्न रहेको नगरपालिका फोरमले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै ‘नेपाल भ्रमण वर्ष–२०२०’ को अवसर पारेर २०७७ असोज २१ देखि २४ गतेसम्म काठमाडौंमा ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन–२०२०’ को आयोजना गर्ने घोषणा गरेको हो । ‘सम्मेलनमा काठमाडौं उपत्यका भित्रका स्थानीय (नगर) सरकारहरुका विदेशस्थित भगिनी शहरहरु, सार्क तथा दक्षिण÷दक्षिणपूर्वी एशियाका राजधानी लगायतका प्रमुख शहर तथा युनेस्को र विश्व सम्पदा शहरहरुको संगठनमा आवद्ध सम्पदा शहरहरुका नगरप्रमुख, नीति–निर्माता एवं योजनाविद्हरुलाई आमन्त्रण गर्ने तयारी गरेका छौँ,’ पत्रकार सम्मेलनमा बोल्दै उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौँ महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘चार दिने सम्मेलनले ‘नेपाल भ्रमण बर्ष–२०२०’ अभियानले निर्दिष्ट गरेको लक्ष्यलाई दरिलो टेवा दिने अपेक्षा गरेका छौँ ।’
शाक्यले भ्रमण वर्षलाई लक्षित गर्दै गर्न लागिएको सम्मेलनले २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पुरा गर्न मद्दत पुग्ने पनि अपेक्षा लिएको बताउनुभयो ।
उहाँले सम्मेलनले बढ्दो शहरीकरण, सम्पदा संरक्षण तथा आर्थिक समृद्धि हासिल गर्न चालिएका कदमहरुको सन्दर्भमा आ–आफूले सँगालेका अनुभवहरुको प्रत्यक्ष आदानप्रदानबाट सहकार्य र समृद्धिप्राप्तिको अभियानलाई समेत नयाँ गति दिने अपेक्षा लिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै शाक्यले अन्तर्राष्ट्रिय मेयर सम्मेलनमार्फत विश्वका विभिन्न देशका नगरप्रमुख (मेयर) हरुबीच शहरहरुको दिगो रुपान्तरणको दिशामा विगत र वर्तमानमा हाँसिल गरिएका अनुभवहरुको आदानप्रदान गर्ने, शहरीकरण तथा सम्पदा संरक्षणसित प्रत्यक्ष रुपमा सरोकार राख्ने पर्यावरणीय मुद्दाबारे समान धारणा बनाउन पहल गर्ने लक्ष्य लिएको बताउनुभयो ।
त्यसैगरी सम्मेलनले शहरहरुबीच सामाजिक, साँस्कृतिक तथा आर्थिक क्षेत्रमा सहयात्राका सम्भाव्यताहरु पहिल्याउन सहभागी शहरहरुबीच द्विपक्षिय तथा बहुपक्षिय संवादको शुरुवात् गर्ने तथा समुदायको सशक्तिकरण तथा सुशासनको माध्यमले विभिन्न क्षेत्र, जाति र विचारमा बाँडिएका जनताबीच सामाजिक सद्भाव तथा आपसी सम्मान र विश्वास अभिवृद्धि गर्ने पनि लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो ।
सम्मेलनको बेला मेयर तथा विज्ञहरुबाट कार्यपत्रहरु प्रस्तुत गरिने छ भने सहभागीहरुबीच गहन विचार–विमर्श पनि गराइने उहाँले जानकारी दिनुभयो । ‘अतिथि विदेशी मेयरहरुबीच नेपाल र नेपालीहरुबारे बढीभन्दा बढी जानकारी प्रवाह होस्, र उहाँहरु मार्फत् नेपाल र नेपालीको सदभाव र शाख तिनका नागरिकहरुसम्म स्थायी र दीर्घकालीन रुपमै सम्प्रेषित होस् भन्ने उद्देश्यले तिनलाई सम्मेलन अवधिमा विश्व सम्पदा सूची तथा हाम्रा अन्य स्थानहरुको अवलोकन भ्रमण गराइनेछ,’ मेयर शाक्यले भन्नुभयो ‘काठमाडौं घोषणापत्र’ जारी गरेर सम्मेलनको समापन हुनेछ ।’
सम्मेलन अपेक्षित रुपमा फलदायी बनोस्, यस निम्ति विभिन्न शहरहरुबीच भगिनी सम्बन्ध कायम होस् तथा आपसी संवाद र सहकार्यको माध्यमले स्थानीय जनताको हितमा शहरहरुबीच सामाजिक, साँस्कृतिक तथा आर्थिक सहयोग अभिवृद्धि होस् भन्नाका लागि सम्मेलन अवधिमा द्विपक्षिय तथा बहुपक्षिय ‘साइडलाइन संवाद’ समेत हुनेछ ।
पत्रकार सम्मेलनकै अवसरमा डब्लुडब्लुडब्लु डट आएमसि २०२० डट ओआरजि डट एनपि वेभसाइट सार्वजनिक गरिएको छ । अहिले नेपाली भाषामा सार्वजनिक गरिएको वेभ पेजलाई क्रमशः अंग्रेजीसँगै अन्य ७ भाषामा सञ्चालन गरिनेछ ।
कार्यक्रममा मध्यपुर थिमी नगरका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले सम्मेलन आपसी ज्ञान र सीप अभिवृद्धि गर्ने कोणबाट लाभदायी हुने बताउनुभयो ।