१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सुकुटी र मासु बोकेर जापान पुगेका नेपालीको भिसा रद्द

नेपालब्रिटेन डट कम्
१८ माघ २०७६, शनिबार ००:५१

टोकियो । सुकुटी र आलो मासु बोकेर जापानको विमानस्थलमा ओर्लिएका २ जना नेपालीलाई जापानको अध्यागमनले भिसा रद्द गरेर नेपाल फर्काइदिएको छ । जापानले विमानस्थलमार्फत आफ्नो देशमा ल्याउन प्रतिबन्ध लगाएका वस्तु ल्याएको भन्दै उनीहरुको भिसा रद्द गरेको हो ।

चितवन घर भएका भट्टराई थरका ती दुई नेपाली बाबुछोरा हुन् । उनीहरुलाई ३ वर्षको भिसा दिइएको थियो जुन रद्द भएको छ ।

दुईमध्ये छोरा पहिल्यैदेखि जापानमा थिए । अहिले विदामा नेपाल गएर आफ्ना बाबुलाई पनि साथैमा लिएर आएका थिए । उनीहरु जापानको नारिता विमानस्थलमा ल्याण्ड गरेपछि चेकजाँचको क्रममा प्रतिबन्धित वस्तुसहित समातिएका थिए । उनीहरुलाई जनवरी २६ मा विमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको थियो ।

आफ्ना पितालाई जापान घुमाउन लिएर आएका भट्टराई २६ तारिख साँझ ड्रागन एयरको विमानबाट नारिता बिमानस्थलमा ओर्लिएका थिए । विमानबाट सामान्य अवस्थामा ओर्लिएर आवश्यक सोधपुछ र भिसा चेकजाँच समेत पार गरेर भट्टराईले आफ्नो लगेज समेत पाइसकेका थिए ।

विमानस्थलबाट बाहिरिएर रेल चढ्न जान लागेका बाबुछोरालाई विमानस्थलको बाहिरी भागमा चेकजाँच गर्ने अधिकारीले सोधपुछ गरेका थिए ।

सोधपुछमा भट्टराई बाबुछोराले झुट बोलेको भए पनि सुरक्षाकर्मीलाई शंका लागेपछि लगेज खोलेर जाँच गर्दा तीनवटा सुटकेसमा गरी करिब ३ किलो सुकुटी र ३ किलो जत्तिनै आलो मासु भेटिएको थियो । चेकजाँचम हरियो खुर्सानी, धुलो खुर्सानी लगायत अन्य खानेकुरा समेत सुटकेसमा भेटिएको थियो । यी वस्तुहरु जापान लैजान प्रतिबन्धित छन् ।