September 24, 2020
12:11 AM | 4:56 AM

‘४७ वर्ष पछि बेलायतले प्राप्त गरेको स्वतन्त्रता’

  01/02/2020 मा प्रकाशित

– प्रकाश केसी ।

‘…मेरा बाबाआमाले ४७ वर्षअगाडि भोट दिएर रोजेको साझा बजार, अहिले ठूलो राजनीतिक संस्था बनेको छ, जसको आफ्नै झण्डा छ, आफ्नै गीत छ, अझ त्यसमा अब आफ्नै सैनिक पनि राख्ने योजना बनाएको छ । बितेको २० वर्षअगाडि जब म यहाँ भित्रिएको थिएँ, यही कुराको जो उठान गर्दथेँ, म एउटा जोकर जस्तो मानिएको थिएँ, तर सन् २०१६ पछि भने यहाँ सबै त्यसरी हाँस्न छाडेका छन् । बेलायत अब मुक्त भएको छ, योपटक गएपछि कहिल्यै फर्किंदैन ।…’

गत बीस वर्षदेखि लगातार युनियनबाट बेलायतलाई अलग गराउने अभियानमा लागेका ब्रेक्जिट पार्टीका अध्यक्ष नाइजल फाराजले ब्रसेल्सको युनियनको कार्यालयमा आफ्नो अन्तिम पटकका भाषणमा व्यक्त गरेका कुराहरू सुन्दै गर्दा एडिसन स्मिथ आफ्नो डेक्सबाट एक प्रकारले उफ्रिएका थिए, उनलाई साथ सोन र एलिजाले दिएका थिए । पक्कै पनि तिनीहरूमा देश स्वतन्त्र भएको जस्तो अनुभूति हुँदो हो । एक जमानामा हामी शक्तिशाली थियौँ भन्ने ऐतिहासिकताको ‘ह्याङ’ बोकेर हिँड्ने बेलायती रैथानेहरूमा विशेषगरी फुटबलमा हुने जितमा देखिने उन्मादकै प्रकारको उन्माद यतिखेर बहुमतका बेलायतीहरूमा देखिएको छ । आखिरमा ४७ वर्षपछि, अनि लगभग चार वर्षसम्मको असमञ्जस परिस्थिति र दुई दुई प्रधानमन्त्रीको अवसानपछि र तीन आमनिर्वाचनपछि आखिरमा बेलायत युरोपीयन युनियनदेखि अलग्गिएको छ ।

ईयू एक प्रकारले एक अप्ठ्यारो किसिमको गठबन्धनमा जकडिएको संस्था हो । शुरुमा साझा बजारको रुपमा स्थापना गरेर बिस्तारै एक शक्तिको साँगठानिक ढाँचामा ढालिएको युनियनभित्र २८ वटा देशहरू आवद्ध थिए । आफ्नो देशको जीडीपीको ०.०६ प्रतिशतले युनियनलाई प्रदान गर्नुपर्ने व्यवस्थामा बेलायतलाई सधैं नै अत्यधिक भार पर्दै गएको हो । युरो जोनको प्रावधानमा बेलायतले आफ्नो उत्पादनशीलता गुमाउँदै गएको हो । गत वर्ष मात्र, जर्मनीले चीनमा ७४.४ बिलियन युरो बराबरको उत्पादनहरूको खपत गरेको थियो भने त्यसको पाँच गुणाले कम मात्र बेलायती उत्पादनको त्यहाँ खपत गरेको थियो । बेलायतको बेनेफिट सिस्टममा ईयूको खुल्ला आवतजावतले गर्दा नयाँ कोटाका आप्रवासीहरू भित्रिएर मुलुकको अर्थतन्त्रलाई ठूलो धक्का दिएको बताइएको थियो । विगतमा युरोपलाई उद्धार गर्न सक्षम बेलायतले आफ्नो आन्तरिक कतिपय नियमहरू पनि ईयूको कोर्ट नियमविपरीत गर्न नसक्ने गरी अशक्त भएको थियो । चार पाँच वर्षअगाडि, यूके इन्डेपेन्डेन्स पार्टीले बेलायतलाई ईयूबाट अलग्याउनको लागि बीसौँ वर्षदेखि अभियान चालिरहेको सो अवस्था निक्कै नै शीर्षस्थानमा रहँदै गएको थियो । यी सबै पक्षहरूलाई ध्यानमा राखेर तत्कालीन बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले ईयूसँगको बेलायतको कानूनी अवस्थाहरूउपर पुनराअवलोकन गरी परिमार्जन गर्नुपर्ने अडान राखी समस्त अन्य २७ वटै सदस्य राष्ट्रहरूलाई एकत्रित गराएर सोउपर गम्भीर रुपमा छलफल गराएका थिए ।

आफूले राखेको परिमार्जनका बुँदाहरूउपर सम्बोधन नभए बेलायतमा युरोपमा इन वा आउट हुनेबारे जनमत संग्रह गराउन आफू बाध्य भएको तर्क राखेका क्यामरुनलाई तत्कालीन सदस्य राष्ट्रहरूलगायत ईयूले गम्भीरतापूर्वक लिएनन् । तीन दिनपछि उक्त छलफलको निचोडले दिलाएको सहमतिहरू बोकेर आएका क्यामरुनले धेरै प्रयत्न गरे सो सहमतिलाई आम बेलायतीहरूउपर बेच्न, तर उनलाई आफ्नै मित्र, तत्कालीन लण्डन मेयर बोरिस जोन्सनले साथ दिएनन्, अर्का नाइजल फाराज, यूकेइपबाट पक्का विरोधी त थिए नै । आखिरमा सन् २०१६ को जुन महिनाको २३ तारिख रेफेरेण्डम भयो र सोही साँझ नतिजा आयो, जो बताइएअनुसार अकल्पनीय थियो ।

उक्त रेफेरेण्डममा बेलायतको तत्कालीन बालिग मताधिकारवालाहरूका ७० प्रतिशत मतदाताहरूले चुनावमा भाग लिएका थिए जसको ५१.९ प्रतिशत अर्थात् १७,४१०,७४२ मतदाताहरूले बेलायतलाई ईयूबाट अलग्याउनेमा भोट हालेका थिए । बेलायतको चार राज्यहरूमा इंग्ल्याण्ड र वेल्स पनि सोही पक्षमा थिए भने नर्दन आयरल्याण्ड र स्कटल्याण्ड ईयूभित्र रहनेमा वहुमत राखेका थिए । त्यस्तै राजनीतिक पार्टीहरूमा कन्जर्भेटिभभित्र २४७ जना (७४ प्रतिशत), लेबोरभित्र १४८ जना (६४ प्रतिशत) अनि डीयूपीभित्र ६ जना (७५ प्रतिशत)ले बेलायतलाई अलग्याउनेमा भोट हालेका थिए । अचम्भ के थियो भने १८ देखि २४ वर्ष सम्मका ७५ प्रतिशत युवाहरूले युनियनभित्र रहनेमा र ७५ वा सोभन्दा माथिका ६३ प्रतिशतका वृद्धवृद्धाहरूले बाहिरिनेमा भोट हालेका थिए ।

२०१६ को तथ्यांकअनुसार सो बेला बेलायतमा ६५.६५ मिलियन जनसंख्या थियो । अहिले सो ६६.८७ मिलियन पुगेको छ, अर्थात् १.४ मिलियन मानिसहरू थपिएका छन् । जन्म र मृत्युदर लगभग–लगभग समान रहेको यो अवधिमा प्रकाशित एक तथ्यांकअनुसार सन् २०१६ देखि २०२० सम्म लगभग २५००००० जना वृद्धहरूको मृत्यु भएको रेकर्ड रहेको छ । अर्थात् ७५ वर्ष सोभन्दा माथिका ६३ प्रतिशतका मतदाताहरूको मृत्यु भइसकेको छ । यो लगभग चार वर्षको अन्तरालमा भने सोही सङ्ख्यामा २०१६ मा मताधिकार प्राप्त नगरेका तत्कालको जनसँख्याको १८ वर्षमुनिका ३.८६ प्रतिशतका युवाहरू, यो बेला वालिग मतदाता बनिसकेका छन् । यदि यो बेला दोस्रो रेफेरेण्डम हुने हो भने बेलायतमा ब्रेक्जिट सम्भवतः हुँदैनथ्यो, तर त्यसो भएन । एकैपटकको मौकाको सदुपयोग गरेर बेलायती जनताले मुलुकलाई ईयूबाट यही जनवरी ३१ तारिखको रातको ११ बजेबाट मुक्त गराएका छन् । ४७ वर्षपछि बेलायत अब आफ्नो खुट्रटामा उभिएको छ र अब सोँच्नुपर्दछ कि अब के हुन्छ ? के के अप्ठ्याराहरू आइपर्दछ अगाडि ? मुलुक र मुलुकबासीहरूले तत्कालै के के नयाँ भोग्नु पर्दछ त ? अब त्यसबारे केही खोतलौँ ।

केहीअगाडि पत्रपत्रिकालगायत टीभीमा भनिएको थियो, ‘…आश्चर्यजनक के सुनियो भने अझै इरान यो सोँच्दछ कि बेलायत अद्यापि त्यो शक्ति हो जसले विश्वमा विविध घटनाहरूमा प्रभाव पार्न सक्दछ ।….’ यो अमेरिका र इरानको पछिल्लो अप्ठ्यारो परिवेशको क्रममा इरानले औँल्याएको तथ्यहरूउपर चर्चा गरिएको हो । विगतको मुख्य खेलाडी रहेको बेलायतप्रति अझै बाहिरी अन्य केही मुलुकहरूमा त्यस्तो प्रभाव रहेको छ । आफ्नो विगतको ‘ह्याङ’लाई गर्वको रुपमा लिने बेलायतीहरूमा राष्ट्रियता उच्च रुपमा हुने नै भयो । तर विगतको दशकदेखि एक बजार नीति, खुल्ला बोर्डर, आवतजावतमा एकरुपता आदिले गर्दा एक सम्पन्न देश भएको नाताले बेलायतले पाउने भन्दा गुमाउने ज्यादा गरेको नीतिकारहरूले बुझ्दै गएका थिए, जसलाई सुधारिएर आफ्नो देशअनुसार बनाउने कैयौं प्रयासहरू खेर गएका थिए, त्यसैको फलस्वरुप अहिले बेलायत युनियनबाट अलग्गिएको छ ।

आठ बिलियन पाउण्डको लागतमा बनाइएको ग्यालिलियो सेटलाइटको लागि बेलायतले मात्रै पाँच बिलियन पाउण्डको खर्च उठाउनु परेको थियो, यस्ता असमान भारहरूले ग्रस्त भएको बेलायतलाई अहिले पुँजी, श्रोत अनि सामथ्र्यहरूको सही अवलोकन गरी त्यसको सही सदुपयोग गर्ने मौका ४७ वर्षपछि आएको छ । हुन त यस वर्ष खास केही नयाँ तथा नौलो हुँदैन । ट्रान्जिसनल पिरियड यो वर्षको अन्तसम्म रहने छ । यस अवधिमा युनियनसँग व्यापार, सुरक्षा, नीतिहरूका विभिन्न सहमतिहरूमा काम हुने छ ।

युरोपका स्पेन, पोर्चुगल, ग्रीस आदि देशहरू लगभग पूर्ण रुपमा टुरिज्ममा आधारित देशहरू हुन्, ती देशहरूमा बेलायती नागरिकहरूका प्रवेश टुरिष्टको रुपमा मुख्य नै हुन्, ती देशहरूले बेलायती नागरिकहरूलाई अवश्य नै विशेष प्रकारको सुविधा दिने नै छन् यदि एक बजार नीति खारेजै हुने भए तापनि । व्यापार साझेदारीको प्रसँगमा कुरा गर्ने हो भने, युनियन बेलायतको मुख्य साझेदार होइन । बरु युनियन अझै अधिकांश पक्षहरूमा बेलायतसँग निर्भित छ । बेलायत वास्तवमा मुख्य रुपमा चीन, भारत अनि अमेरिकासँग ज्यादा व्यैपारिक सम्वन्ध बाँध्न चाहान्छ । पछिल्लो उदाहरणमा चीनको हुवाह्वेलाई ५ जी निर्माणमा मौका दिएर बेलायतले देखाएको छ कि, बेलायत आत्मनिर्भर रुपमा अगाडि बढ्न चाहान्छ । अमेरिकाले अझै पनि हुवाह्वेले देशको आन्तरिक सुरक्षामा प्रभाव पार्न सक्ने भन्दै सोलाई निषेध गरेको छ र बेलायतले फाइभ आईलाई नै धक्का दिने काम गरेको दोष लगाएको छ ।

स्मरणीय छ, बेलायत, अमेरिका दुई देशबीच गोप्य सूचनाहरू आदानप्रदान गर्ने गरेको क्रममा सन् १९५० पछि विश्वमा अँग्रेजी बोल्ने पाँच देशहरू अर्थात् बेलायत, अमेरिका, क्यानाडा, अष्ट्रेलिया र न्युजिल्याण्डहरू जम्मा भएर फाइभ आई बनाइएको हो, जहाँ सबै गोग्य सूचनाहरू सेयर गर्ने गरिन्छ । हुवाह्वेको फाइभ जीलाई प्रतिवन्द्ध अमेरिका र अष्ट्रेलियाले लगाइसकेको छ तर क्यानाडा अनि न्युजिल्याण्ड अझै विचार गर्दैछन् । युनियनबाट छुट्ना साथ मुलुकको विकासको चरणमा, प्रविधिको पक्षमा अगाडि बढ्नको लागि बेलायतले फाइभ जीको लागि हुवाह्वेलाई केही सीमित छुट दिएको छ र भनेको छ, बेलायतको लागि हुवाह्वे खतराजनक भए तापनि व्यवस्थित पार्न सकिने कम्पनी हो । बेलायतले यही क्रममा धेरैपछि फेरि अग्रणी भूमिका खेल्न शुरु गरेको छ । अब पक्कै पनि बेलायतको सिको क्यानाडा, न्युजिल्याण्डलगायत युरोपतिर गरिने छ ।

बेलायत अब आफ्ना तीसभन्दा ज्यादा युनेस्को वर्ल्ड हेरिटेजलाई धेरै आकर्षक बनाएर ल्याउने छ, आफ्नो सामुन्द्रिक तटहरूलाई ज्यादा सुविधायुक्त बनाउने छ । बेलायतले आफ्ना विश्वविख्यात युनिभर्सिटीहरू क्याम्ब्रिज्ड, अक्स्फोर्ड, आस्थाको प्रतीक राजसंस्था, विविध खेलहरूमा फुटबल, क्रिकेट, अन्य विविध प्राकृतिक पार्कहरूमा लगानी गर्ने छ । प्रदुषणरहित मुलुक बनाउनको लागि द्रूतगतिमा कामहरू गर्ने छ, राष्ट्रिय स्वास्थ्य व्यवस्थामा लगानीहरू गर्ने छ । प्राकृतिक रुपमा आफ्नो खुट्टामा धेरैपछि आफै उभिन थालेदेखि व्यक्ति तटस्थ बस्न सक्दैन, ऊ दौडन्छ, उफ्रिन्छ, त्यस्तै अलग्गिएर अगाडि बढ्ने क्रममा बेलायतले ठूलो मिहेनत गर्ने छ र जसलाई जनताहरूले एकरुपले साथ पक्कै दिने छन् । भूतपूर्व प्रधानमन्त्री टोनी ब्लेयर जो सशक्त रुपका एक विरोधी आवाज थिए, उनले ब्रेक्जिट पटक्कै मन पराएका थिएनन्, आर्टिकल ५० लाई नै खारेज गर्नका लागि अभियान नै थालेका थिए तर आज मुलुक त्यो मोडमा पुगिसकेको सन्दर्भमा उनले स्वीकारेका छन् कि अब बेलायत अनि बेलायतीले अगाडि हेर्ने हो । देशलाई अब कसरी सफल र सम्पन्न बनाउन सकिन्छ भन्नेमा लाग्ने हो भनेर एक सकारात्मक आफ्नो धारणा व्यक्त गरेका छन् भने डेबिड क्यामरुन जो युनियनका पक्का हिमायती थिए ले पनि अब मुलकलाई सफल बनाउनका लागि क्रस पार्टी अभियान थाल्नु पर्दछ भन्ने धारणा व्यक्त गरेका छन् ।

मुलुकको आधा जनताहरू जसले युनियनको हकमा भोट हालेका थिए, अझै पनि पूर्ण रुपले बेलायती विधि र विधानको खुशी मनले समर्थन गर्न सकेका छैनन् । बहुमतको कदर गर्दै ब्रक्जिटको पक्षमा खुलेर लागेका छैनन् । एक ठूलो तप्काका अर्धविदहरूले देखाएको त्रासमा अझै ठूलो परिमाणका जनताहरू पिल्सिएका छन् । यद्यपि ती नानाथरिको भविष्यवाणीहरू एकपछि एक गर्दै गलत सावित नभएका होइनन् । आफ्ना समकालीन प्रधानमन्त्री डेकिड क्यामरुनको लयमा साथ तत्कालीन अमेरिकी प्रेसिडेन्ट बाराक ओबामाले पनि तत्कालीन बेलायती मनस्थितिमा ब्रेक्जिटको डर नदेखाएका होइनन्, आखिरमा सबै मत, आँकलहरूलाई गलत सावित गर्दै बितेको लगभग चार वर्षमा पनि बेलायतले धेरै धेरै पक्षहरूमा पहिलेको भन्दा धेरै राम्रो गर्दै गएको हो । रेफेरेण्डमको दिनमा एक्कासी ह्वात्तै गिरेको मुद्रा विनिमयको सूचांक केहीपछि नै माथि उठेको हो । युनियनको अघोषित प्रायोजनामा रहेका निकै ठूलो विरोधी गतिविधिले पनि लत्याउन नसकेको बजारको विश्वास अहिले फेरि ह्वात्तै माथि चढेको छ । थोरै नै भए पनि वहुमतका बेलायती मतदाताहरूका भोटले चुनिएको ब्रेक्जिट सोही पर्यायले खशियाली बनाउन उपयुक्त हुन्छ तथापि स्कटल्याण्डमा र इंग्ल्याण्डका केही ठाउँहरूमा आजको दिनलाई शोकपूर्ण दिनको रुपमा पनि हेरिएको छ ।

तर, जे भए तापनि ४७ वर्षपछिको यो निक्कै नै महत्वपूर्ण दिन हो । सारा संसारको आँखा अहिले यतिखेर बेलायतमा छ, बेलायतको मुख्य मुख्य शहरहरूजस्तै लण्डनको पार्लियामेन्ट स्क्वायरमा ठूलो जनसंख्यामा सहभागिता राखेर एक महोत्सवको रुपमा मनाइएको छ । बेलायती समय ११ बजे जुन ब्रसेल्सको ठीक १२ बजे मध्यरातमा कहिल्यै नफर्कने गरेर बेलायत युनियनबाट आधिकारिक रुपमा अलग्गिएको छ । ४७ वर्षपछि बेलायतको झण्डा तह लगाएर झारिएको छ । भविष्यमा एक असल साझेदार हुन सक्ने तर ४७ वर्षसम्मको साथ रहँदाको जस्तो मित्र कहिल्यै बन्न नसक्ने भनाइ युनियनकी अध्यक्षाले केहीअगाडि बताएकी थिइन् । व्यापारिक सम्बन्ध भनेको आपसी मित्रवत सम्बन्ध होइन, लिनु र दिनुबीचमा बराबरी हेरिने, फाइदा बेफाइदाबारे जोडघटाउ गरेर जोडिने सम्वन्ध जहिले पनि समय र परिवेशअनुरुप हुन्छ नै, बेलायतले आयन्दा सोही पर्यायको प्रोफेशनल रिलेशन नै चाहान्छ र सो दिनको लागि ईयू पक्कै नै चुक्दैन ।

जीवनमा भोगिने हरेक पलहरू मूल्यवान हुन्छन् । हरेक पल महत्वपूर्ण हुन्छ । जो एकपटक बितेपछि फेरि वापस हुँदैन । जीवनको यत्तिको अवधिमा धेरै खण्ड, काल तथा घटनाहरूको भुक्तभोगी नभए तापनि समकालीन भने भइएको छ र त्यो पल अझै मानसिकताको कुनै नै कुनै कुनामा अद्यावधि रहेको छ । टीभीमा देखिने समाचारहरू पनि हाम्रो समकालीन अनुभूतिहरू हुन् । त्यसमा बर्लिन पर्खाल भत्काइएको, सन् ९७मा हङकङ हस्तान्तरित भएको, अमेरिकामा बाराक ओबामा प्रेसिडेन्ट छानिएका, रसियामा पुटिनको उदय भएको, २००३ को सुनामी, भुटानबाट नेपाली मूलका नागरिकहरू देखिएका आदि आदि जस्तै ४७ वर्षपछि युरोपीयन युनियनबाट सदाकै लागि बेलायत अलग्गिएको पनि त्यस्ता घटना तथा समयको एक पलहरू हुन् जो गहिरोसँग यो पलमा बाँच्ने हामीहरूले भुक्तभोगी या समकालीन भएर सम्झनामा साँचेर राख्ने छौं पक्कै नै । ग्लोबल सिटिजनको रुपमा आज व्यक्तिहरूलाई हेर्न थालिएको अवस्थामा पनि देशको स्वाधीनता, स्वतन्त्रता, स्वावलम्वन अनि राष्ट्रियता उति नै महत्वपूर्ण अनि प्यारो हुँदो रहेछ भन्ने आज बेलायतमा भएको उन्मुक्तिको सार्वजनिक प्रदर्शनीले देखाएको छ ।

प्रतिक्रिया