८ बैशाख २०८१, शनिबार
Follow Us

अल्डर्सटमा मन्दिर निर्माणका लागि च्यारिटी डिनर हुँदै

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७३, शुक्रबार २३:०८

बेलायतको राजधानी लण्डन नजिकैको शहर अल्डर्सटमा हिन्दू मन्दिर स्थापनाका निम्ति स्थानीय नेपाली र भारतीय समुदाय तातेका छन् ।
यसै क्रममा आउँदो 27 नोभेम्बरका दिन अल्डर्सटको एम्पायर बंकेटिंग हलमा भव्य च्यारिटी डिनरको आयोजना गरिएको छ । यस क्षेत्रको ख्यातिप्राप्त हिन्दू धार्मिक संस्था ‘शिव कल्चरल कमिटी’ले उक्त डिनरको संयोजन गरेको हो ।

नेपालीहरूको बहुमत बसाइ रहेको अल्डर्सटमा प्रार्थना र सांस्कृतिक कार्यक्रम सम्पन्न गर्ने हिन्दू धार्मिक स्थलको भने अभाव छ । हाल उक्त कल्चरल कमिटीकै नेतृत्वमा एउटा हल भाडामा लिएर श्रद्धालुहरूलाई सेवा दिइँदै आएको छ । बौद्ध धर्मावलम्वी नेपालीहरूले भव्य गुम्बा निर्माण गरेर उदाहरण स्थापित गरिसके पनि विभिन्न कारणले हिन्दू मन्दिर निर्माण हुन नसके पनि अब युद्धस्तरमा लागिपर्ने संस्थाका प्रमुख अभियन्ता सूर्य उपाध्यायले बताए ।

आइतबार पाँच बजे सुरु हुने उक्त च्यारिटी डिनरमा सहभागी भएर मन्दिर निर्माणमा सघाउन संस्थाले सबै नेपाली बेलायतीहरूलाई आह्वान गरेको आयोजक समिति सदस्य जीव बेलबासेले बताए ।

आयोजक समितिका सक्रिय सदस्य रोहित गुरुङ्गले करिब चार सयले उक्त कार्यक्रममा उपस्थित भएर मन्दिर निर्माणमा प्रतिबद्धता व्यक्त गर्ने अनुमान गरे ।