१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बिक्री हुन छाड्यो ‘बगनासी साँचो’

नेपालब्रिटेन संवाददाता
१८ माघ २०७६, शनिबार ०७:५१

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–९, बगनासमा उत्पादित ‘बगनासी साँचो’ बिक्री नहुँदा व्यवसायी चिन्तित बनेका छन् । विश्वकर्मा समुदायले उत्पादित ‘बगनासी साँचो’ प्रति उपभोक्ताको आकर्षण नहुँदा साँचो उत्पादन गर्ने व्यवसाय नै धरापमा परेको हो ।

उत्पादित साँचोसमेत बिक्री हुन छाडेको छ । अब व्यवसायी थप उत्पादन गर्ने सोचमा छैनन् । लगानी गरेर उत्पादित साँचोले बजार पाउन नसक्दा व्यवसायी चिन्तित छन् । व्यवसायी टेकबहादुर विश्वकर्माले पहिलाको तुलनामा अहिले साँचोको कारोबार हुन नसकेकोमा चिन्तित छन् । “लगानी गरेर साँचो बनाउनुपर्छ तर बिक्री नहुँदा घाटा हुन्छ”, विश्वकर्माले भन्नुभयो, “कसैले साँचो बनाइदिनु प-यो भनी मात्र उत्पादन हुन्छ, अरू समयमा साँचो उत्पादन हुन छाडेको छ ।”

भारतीय र चिनियाँले मेशिनद्वारा उत्पादित साँचोे नेपाली बजारमा सस्तो मूल्यमा पाइन्छ । सस्तो, सानो र आकर्षक साँचो बजारमा पाउन थालेपछि यहाँ उत्पादित साँचोको प्रयोगप्रति आकर्षण घट्दो छ । पहिला साँचो उत्पादन गर्ने घरहरुमा समेत अहिले बजारको साँचो प्रयोग गर्न थालेका छन् ।

पहिला पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, अर्घाखाँची, प्यूठानलगायत जिल्लाबाट समेत नयाँ साँचोको आपूर्ति हुँदै आएको थियो तर पछिल्ला दश–बाह्र वर्ष उत्पादनका लागि माग हुन छाडेको छ । बिग्रिएका साँचो मर्मतका लागि अझै केही मानिसहरु आउँछन् तर नयाँ साँचोको माग पहिलाको तुलनामा शून्यजस्तो रहेकामा व्यवसायी चिन्तित छन् । बगनासी साँचो प्रयोगमा कमी आएकाले आफूले उत्पादन गर्ने आएको साँचो बिक्री हुन नसकेको गुनासो उत्पादक टेकबहादुर विश्वकर्माको छ । साँचो उत्पादन गर्ने व्यवसायीले अहिले अन्य काम गर्न थालेको विश्वकर्माको दाबी छ ।

स्थानीय बासिन्दा शुक्रमाया विश्वकर्माले पहिलाका तुलनामा अहिले वर्षमा एक–दुईवटा मात्र बिक्री हुने बताउनुभयो । बिक्री हुन छाडेपछि उत्पादन पनि कमी हुँदै आएको र यो व्यवसायप्रति युवा पुस्ताको आकर्षण हुन नसकेको उहाँले बताउनुभयो ।

युवा व्यवसायी शिव विश्वकर्माका अनुसार बगनासी साँचोलाई आधुनिकीकरण गर्न सकेको अवस्थामा मात्र यो साँचो संरक्षण हुने बताउनुभयो । उहाँले परम्परागत रुपमा साँचो उत्पादन गर्दा श्रमअनुसारको ज्यालासमेत उठाउन गाह्रो भएकाले अब बगनासी साँचोलाई मेशिनबाट उत्पादन गर्ने आवश्यक रहेको बताउनुभयो । बगनासमा उत्पादित साँचोलाई पाँच–सात सय रुपैयाँ पर्ने हुँदा प्रयोगकर्ता सय–डेढ सय मूल्यका साँचो प्रयोग गर्दै आएका छन् ।

स्थानीयवासी साँचोको मूल्य महँगो हुँदा लोप हुने अवस्थामा पुगेको हो । मेशिनले निर्माण गरिएका साँचोको मूल्यमा कमी हुनु र युवा पुस्ताले साँचो बनाउन आकर्षित नभएपछि यो साँचो बिस्तारै हराउने शुक्रमाया विश्वकर्माको दाबी छ । साँचोको माथिल्लो भागको डण्डी रहेको र जुन डण्डी एक साइड खुल्ने र अर्को साइड घुमाउन मिल्ने डण्डी रहेको छ । डण्डीलाई प्वालभित्र राखेर साँचोको तल्लोमा चाबीले खोल्न र बन्द हुन्छ ।

कृष्ण दर्नाल