१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लन्डन दूतावासको सकृयतामा गोरखा र रसमोरबीच भगिनी सम्वन्ध (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१९ माघ २०७६, आईतवार ०७:४५

लन्डन । लन्डनस्थित नेपाली दूतावासले रसमोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको अवसरमा एक विशेष कार्यक्रम गरेको छ । शुक्रबार सांझ दूतावासमा स्वागत तथा सम्मान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा राजदूत डा। दुर्गाबहादुर सुवेदीले अतिथीहरुको स्वागत गर्दै ऐतिहासिक भगिनी सम्बन्धले दुई देशका जनताबीचको सम्बन्ध अभिवृद्धि एवं सांस्कृतिक, शिक्षा, पर्यटन र व्यापारका क्षेत्रमा सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गरे ।

राजदूत सुवेदीले नेपाल गरिब भएपनि प्रकृति र पृथक संस्कृतिका लागि विश्वकै धनी देश भएको बताउंदै नेपालमा सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, जिवित देवी कुमारी, चितवन, पोखरा जस्ता रमणीय शहर भएको जानकारी दिए ।

उनले नेपाल सरकारले २० लाख पर्यटक भित्रयाउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान घोषणा गरेको जनाउंदै नेपाल पर्वतारोहण, ट्रेकिङ र अन्य पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएकाले नेपाल भ्रमण गर्न आमन्त्रण गरे । बेलायत नेपाल सम्बन्ध दुई शताब्दीभन्दा लामो भएको उल्लेख गर्दै उनले गोर्खाहरु दुई देशबीच सम्बन्ध विस्तारका प्रमुख आधार भएको पनि बताए ।

कार्यक्रममा राजदूतले अतिथीहरुलाई मायाको चिनो र भ्रमण वर्ष प्रवर्धनात्मक सामाग्री राखिएको ब्याग प्रदान गरे ।

सो अवसरमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गोर्खाहरुका कारण बेलायत नेपाल सम्बन्ध प्रगाढ र आत्मीय बनेको आडमा रसमोरसंग भगिनी सम्बन्ध गांस्न पाएकामा कृतज्ञता व्यक्त गरे ।

उनले भूकम्पले क्षतविपत गोखाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको बताउंदै प्राकृतिक विपतमा घर, विद्यालय निर्माण र स्वास्थ्य सेवामा बेलायतले प्रमुख भूमिका निर्वाह गरेकोमा पनि आभार व्यक्त गरे ।

मेयर पन्तले ‘भिजिट गोर्खा’ अभियानबारे जानकारी दिंदै ऐतिहासिक, सांस्कृतिक धरोहर र सम्पदा भएको ऐतिहासिक जिल्ला गोर्खामा स्वागत 
गर्ने अवसर प्रदान गरिदिन बेलायतवासी नेपाली र बेलायती समक्ष अपिल गरे ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरनले सञ्चालन गरेको उक्त कार्यक्रममा रसमोर बरो काउन्सिलका डिष्ट्रिक्ट चियर काउन्सिलर डेभिड क्लिफोर्डले दूतावासमा आफूहरुलाई सधैं न्यानो आतिथ्य मिल्ने बताउंदै रसमोर बरोमा नेपाली समुदायको कल्याण र हितका लागि काउन्सिल कटिवद्ध रहेको धारणा राखे ।

डेपुटी मेयर काउन्सिलर फ्रयांक रोष्टले भगिनी सम्बन्ध स्थापनाले दुई देशबीचको नाता अझ आत्मीय बनेको बताए । उनले रसमोर बरोमा रहेको नेपाली समुदायले पनि आफूहरुलाई ठूलो योगदान गरेको स्मरण गरे ।

कार्यक्रममा गोरखाकी प्रमुख कार्यकारी अधिकृत कृष्णकुमारी श्रेष्ठले ‘पावर पोइन्ट’ मार्फत गोरखा जिल्लाको भौगोलिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सौन्दर्यबारे प्रस्तुति दिएकी थिइन् । सो अवसरमा नेपाली मौलिक नृत्य पनि देखाइएको थियो ।