१५ चैत्र २०८०, बिहीबार
Follow Us

उद्घाटनमा नेपालले ओमनसँग खेल्ने

नेपालब्रिटेन संवाददाता
२१ माघ २०७६, मंगलवार ०७:४५

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आइसिसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि बुधबारदेखि सुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि ओमन र अमेरिका नेपाल आइसकेका छन् । नेपालले आफ्नो उद्घाटन खेलमा ओमनलाई पराजित गर्दै जीत निकाल्ने लक्ष्यसहित मैदानम उत्रनेछ ।

यही माघ २९ गतेसम्म चल्ने खेलमा नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा कूल ६ खेल हुनेछन् । हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ । त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ खेल्नेछ ।

त्यस्तै लिग दुईमा नेपालसहित स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका छन् । नेपालबाहेक अन्य राष्ट्रहरुले आफ्नो पहिलो खेल खेलिसकेका छन् । अहिलेसम्म अङ्क तालिकामा अमेरिका शीर्ष स्थानमा छ । आठ खेल खेलेको अमेरिकाले ६ खेलमा जीत निकाल्दै १२ अङ्क हात पारेको छ । त्यस्तै स्कटल्यान्डले नौ अङ्क जोड्दै दोस्रो स्थानमा छ भने आठ अङ्क जोडेको नामिबिया तेस्रो स्थानमा छ ।

समान आठ अङ्क नै जोडेको ओमन अङ्क तालिकाको चौथो स्थानमा छ भने सात अङ्क रहेको युएई पाँचौं र अङ्कविहीन रहेको पपुवा न्युगिनी छैटौं स्थानमा छ । नेपालले भने पहिलो खेल खेल्न लागेको हो ।