६ बैशाख २०८१, बिहीबार
Follow Us

नयाँ गभर्नरको लागि दौडधुप तिब्र, आधा दर्जन महत्वकांक्षीको चलखेल

नेपालब्रिटेन डट कम्
२२ माघ २०७६, बुधबार ०७:५६

काठमाडौ। सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति प्रक्रिया शुरु गरेको छ। पाँच वर्षे कार्यकाल पूरा गरी वर्तमान गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी चैत ५ गते अवकाश पाउदै छन्।

राष्ट्र बैंक ऐनमा बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै अर्को गभर्नर नियुक्त गरिसक्नुपर्ने प्रावधान छ। रिक्त पदमा नियुक्ति लिन बिभिन्न शक्तिकेन्द्र धाउनेक्रम शुरु भएको छ ।

आगामी गभर्नरका लागि अर्थसचिवबाट अवकाश भएका डा. राजन खनाल उपयुक्तपात्र हुने सत्तरुढ दलका नेताहरुले बताउन थालेका छन्।

साबिक एमालेतर्फका केही अगुवाले खनाल आगामी गभर्नर भनेर दाबी गर्न थालेका हुन्।

साबिक माओवादीले भने डा. मीनबहादुर श्रेष्ठ निर्विकल्प आगामी गभर्नर हुन् भनेर दाबी प्रस्तुत गर्ने क्रम शुरू भएको छ। श्रेष्ठ राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकका साथै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन्।

अहिलेका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी प्रधानमन्त्री निकट रहेकाले उनी नै गभर्नरका एक्ला उमेद्वारका रुपमा पनि हेरिएको छ । उनी वर्तमान अर्थमन्त्री खतिवडा निकट मानिन्छन् ।
एकथरी पूर्वएमालेहरुले महाप्रसाद अधिकारीको दाबेदारीलाई बलियो ठान्छन्। युवराज खतिवडा गभर्नर हुँदा उनी डेपुटी गभर्नर थिए। यसअघि उनी गभर्नरमा पनि सिफारिस भएका थिए।

सरकारबाट क्लिन चिट लिएर फर्किएका अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठले आगामी गभर्नरको आफू बलियो प्रतिस्पर्धी रहेको अन्तर्वार्ता नै दिइसकेका छन्।

अर्का प्रतिस्पर्धी राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठ पनि हुन्। मौद्रिक अर्थशास्त्री श्रेष्ठ अहिले लघुवित्त सुपरिवेक्षण विभागमा छन्। उनी नेकपा महासचिव विष्णु पौडेल निकट छन्। आगामी गभर्नरका लागि सुवोधकुमार कर्णको लबिङ पनि जारी रहेको छ ।