१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पलेँटी युट्युबमा अब छन्द कविताको पालो

नेपालब्रिटेन डट कम्
२४ माघ २०७६, शुक्रबार १३:४१

नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम पलेँटीका पुरै कार्यक्रमहरू केही महिनादेखि युट्युबमार्फत् शृङ्खलाबद्ध रुपमा अपलोड हुँदै आएका छन् ।

नेपालयलेले आफ्नो अभिलेखमा रेकर्ड गरेर राखेका गीतहरु आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गर्दै आएको छ । उसले २०१९ मा आयोजित पलेँटी कार्यक्रमका पूरै कार्यक्रमलाई शृंखलाबद्ध रुपमा सार्वजनिक गर्दै आएको हो । यसै क्रममा संगीतकार आभाषद्वारा संचालन गरिएको र गायिका मीना निरौलाद्वारा प्रस्तुत ‘नेपाली संगीतमा महिला’ र आभास स्वयंको ४ दशकको संगीतयात्रा यस अघि सार्वजनिक भइसकेका छन् । यी दुवै कार्यक्रमको लाइभ रेकर्डिङ ४ भागमा सम्पादन गरेर धारावाहिक रुपमा पलेटीँको युट्युब च्यानल http://www.youtube.com/paleti मा उपलब्ध गराइएको छ ।

अबको केही साता पलेँटीको युट्युब च्यानल छन्दमय रहने छ । साहित्य अनुरागी भूषिता वशिष्ठद्वारा गत वर्षको अप्रिलमा प्रस्तुत छन्द गायनको अनुभव अब सबैका निम्ति उपलब्ध हुनेछ ।

नेपाली छन्द कविता लयात्मक माधुर्य र लालित्य बोकेको मनोरम शैलीको साहित्यिक विधा हो । कुनै बखत छन्द विधा नेपाली साहित्यको मेरुदण्ड नै मानिन्थ्यो तर अहिले यो विधा सिमित लयप्रेमीहरू बीच मात्र साँघुरिएर रहेको छ । छन्द कविता, वाचन परम्पराको माध्यमले पुस्तान्तरण हुँदै जानु पर्ने साहित्यिक विधा हो । किताबमा मात्र सिमित राखेर छन्दको सुन्दरता पर्गेल्न सकिँदैन । त्यसैले यो विधालाई भाका हालेर गाउँदै प्रसारित गर्ने परम्परा विकसित गर्ने उद्देश्यले युट्युबमा राख्न खोजिएको कुरा नेपालयले जनाएको छ । यसरी आधुनिक प्रविधिमार्फत् छन्द प्रेमीहरू माझ कविता पुर्‍याउँदा यसको दायरा फराकिँदै जान्छ ।

हाल केही छन्दप्रेमीका धुकधुकीमा बाँचेको यो विधालाई पर्याप्त रुपमा प्रचार गर्न अति जरुरी छ । भूषिताले वाचन गरेका कवितामा सोमनाथ सिग्ध्याल, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे लगायतका सुप्रसिद्ध कविहरूका रचना समावेस भएका छन् ।

‘पलेँटीको सांगीतिक मञ्चमा भूषिताको छन्द वाचनले नौलो रौनक ल्याएको थियो । संगीत र साहित्य मिसिएको त्यस नयाँ प्रस्तुतिलाई धेरैले रुचाएका थिए । कार्यक्रममा प्रत्यक्ष उपस्थित हुन नपाएका साहित्य र संगीतका अनुरागी माझ छन्दलाई धारावाहिक रुपमा बाँड्न पाउँदा हामी हर्षित छौँ’ पलेँटी संयोजक संगीतकार आभासले भने ।

‘छन्द परम्परा हाम्रो साहित्यको मौलिक स्वाद बोकेको विधा हो । नेपाली छन्दलाई वाचन गरी अभिलेख गर्ने मेरो प्रयासलाई पलेंटी कार्यक्रमले थप उर्जा दिएको थियो । अब त्यही कार्यक्रमको अभिलेख पलेँटीको युट्युब च्यानलमार्फत सार्वजनिक हुन लागेको सुन्दा मलाई खुशी लागेको छ’ भूषिताले भनिन् ।

भूषितालाई बाल्यकालदेखि नै छन्दले मोहित पार्थ्यो । अँग्रेजी साहित्यकी जिज्ञासु विद्यार्थी भूषिता अहिले छन्द कविताका भाकाहरूबाट मात्र होइन यसभित्रको साहित्यिक र पूर्वीय दार्शनिक पक्षसँग पनि मोहित छिन् ।

नेपाली छन्द कविताको परम्परामा सयौं प्रकारका मात्रा अथवा मीटर रहेका छन्, जसलाई भूषिताले कार्यक्रमका क्रममा प्रष्ट्याएकी थिइन्। युट्युबमार्फत् प्रसारण हुने कार्यक्रममा छन्द र नेपाली साहित्यमाथि भूषिताको व्याख्या पनि समेटिएको छ ।