१२ बैशाख २०८१, बुधबार
Follow Us

अख्तियारले कांग्रेसलाई डुबायो की बचायो ?

नेपालब्रिटेन डट कम्
२४ माघ २०७६, शुक्रबार १६:३९

अनारायण गाउँले । लण्डन । अख्तियारले सत्तानिकटलाई बचाएकोसम्म सत्य हो, तर खोजी खोजी कांग्रेसीहरूलाई फ़साएको भन्ने दाबीचाहिँ कत्ति पनि सत्य होइन ।
फसेका तीन जना पूर्वमन्त्रीमध्ये एक जना पनि कांग्रेसका होइनन् । विजय गच्छदार माधव नेपालको सरकारमा मधेशी फोरमको नेतृत्व गर्दै मन्त्री बनेका थिए । अन्य दुबै जना कम्युनिस्ट मन्त्री हुन् ।

सरकारले बनाएको छानबिन आयोग र अख्तियार दुबैले सबैभन्दा ठूलो दोषी मानेका र भूमाफिया भनिएका शोभाकान्त ढकाल र उमाकुमारी ढकाल तत्कालीन एमालेकै नेता हुन् । ढकाल विष्णु पौडेलका साथी हुन् । पौडेलले अन्य सर्वसाधारणबाट जग्गा किनेका होइनन्, यिनै माफिया दोस्तबाट सोझै किनेका हुन् । जग्गामाफिया भनेर यिनलाई माओवादीले अपहरण पनि गरेको रहेछ र ठूलो चन्दा दिएर यी छुटेका रहेछन् । विष्णु पौडेलको जोड़बलमा ढकालको नाम समानुपातिक उम्मेदवारको सूचीमा भए पनि उनी सांसद भने बनेनन् ।

माधव नेपालको पालामा पटक पटक क्याबिनेटबाटै प्रस्ताव लगेर यी जग्गा हड़प्ने काममा पौडेलले नै ढकाललाई सघाएका थिए । ढकालसँग अहिले पनि बालुवाटारभित्रै १४ रोपनी जग्गा छ भन्ने रिपोर्ट पढ़ियो । यस प्रकरणका मुख्य खेलाड़ी ढकाल र पौडेल नै देखिन्छन् । माधव नेपालचाहिँ अनजानवश पौडेल र ढकालकै घानमा परेका हुन् या उनले पनि केही ‘शेयर’ हात पारे भन्ने उनलाई नै थाहा होला, तर अन्य धेरै कर्मचारीचाहिँ यही पौडेल-ढकाल सङ्गठित गिरोहको शिकार भएको देखिन्छ । केहीले पक्कै तर चाटे होलान्, तर मुद्दा लागेका केहीले भने बल्ल के निर्णय गरिएछ भन्ने थाहा पाएको हुनसक्छ ।

अख्तियारले खुलेरै दोषी देखाएका तर प्राविधिक कारणवश मुद्दा दर्ता गर्न नसकेको भनेका माधव नेपाल र बाबुराम भट्टराई पनि कांग्रेस होइनन् । बाँकी अन्य आरोपितहरू या त कर्मचारी हुन् या व्यापारी ।

यस्तोमा कांग्रेसले त अख्तियारलाई थप आड़ र शक्ति दिनुपर्ने हो । अख्तियारले मन्त्रिपरिषदलाई ‘मुद्दा चलाउन मिल्ने बनाउन’ आग्रह गरेको छ । यस्तो भयो भने शायद, उसले बाँकी तीन-चार जनामाथि पनि मुद्दा चलाउनेछ । मुद्दा नै नचलाए पनि ती भ्रष्ट हुन् भन्ने सन्देश दिने ‘आँट’ त गरेको छ नै । हिजो माओवादी, एमाले र कांग्रेसका धेरै नेतामाथि लोकमानसिंह कार्कीले मुद्दा दर्ता गर्ने तयारी थाहा पाएपछि हतार हतार सबै दल मिलेर महाभियोगको निर्णय गरेको कांग्रेसले बिर्सेको छैन होला । आज झन्डै दुई तिहाईको सरकार हुँदा अख्तियार ड़राउनु स्वाभाविक हो । हिजो कांग्रेस आफैले अगुल्टोले हानेको हो । आज अख्तियार बिजुलीसँग डरायो भने यसको अलिकति दोष उसैको पनि होइन र ?

सत्ताधारी पार्टीकै महासचिब र वरिष्ठ नेतामाथि मुद्दा दर्ता गर्न अख्तियार डरायो होला, तर खोजी खोजी कांग्रेस सिध्याउने अभियान कसरी भयो त यो ? एक जना विजय गच्छदारको नाम आउनेबित्तिकै कांग्रेस सिध्याउने खेल कसरी हुन्छ ? अरू तीन मन्त्री त कम्युनिस्ट नै छन् त ? के भ्रष्टाचारपूर्ण निर्णय गर्ने क्याबिनेटका प्रमुख माधव नेपाल र बाबुराम पनि कांग्रेस हुन् ? के एक जना पनि कांग्रेसी नेताको नाम आउन नहुने हो ? कति कांग्रेसी कार्यकर्ता होलान्, जसलाई आमाको अनुहार सम्झेर विजय गच्छदार निर्दोष छन् भन्न सक्लान् ?

कांग्रेसी जन, ओली सचिबालयमा अल्पमतमा छन् । विष्णु पौडेल बाहिरिने हो भने उनी झन एक्लिने डर छ । यस्तोमा बरू सदन बन्द गर्नुभन्दा प्रधानमन्त्रीलाई बल दिने र कूटनैतिक रूपमा पहल गरी सबै भ्रष्टलाई सजाय हुने वातावरण पो बनाउनुपर्छ । यदि आन्दोलन नै गर्ने हो भने कुनै व्यक्तिविशेष भन्दा पनि समग्र भ्रष्टाचारको छानबिनका लागि गर्नुपर्छ । भ्रष्टाचार अन्त्य नभई तिमी र ऊ मात्रै बन्ने हो, देश बन्दैन ।