१६ चैत्र २०८०, शुक्रबार
Follow Us

डेब्युमै कुशलको कीर्तिमान, अमेरिकालाई १९१ को लक्ष्य

नेपालब्रिटेन संवाददाता
२५ माघ २०७६, शनिबार ०८:१२

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकालाई नेपालले १९१ को लक्ष्य दिएको छ । नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले अर्धसतकीय पारी खेलेका थिए । नेपाल ४९ ओभर २ बलमा अल आउट हुँदै अमेरिकालाई १९१ को लक्ष्य दिएको हो । विनोद भण्डारीको ५९ तथा कुशलले ५० रनको योगदानमा नेपालले १९० रन बनाउन सफल भएको हो ।

नेपालका कुशल मल्लले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । आइसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा शनिबार उनले उक्त कीर्तिमान बनाएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका लागि छैटौँ नम्बरमा ब्याटिङ गर्न आउनुभएका बायाँ हाते अलराउण्डर कुशलले ५१ बल खेल्दै ५० रन बनाएका हुन् । यस क्रममा उनले तीन छक्का र चार चौकासमेत प्रहार गरे । कुशलले १५ वर्ष ३४० दिनको उमेरमा विश्व कीर्तिमान बनाउनुभएको हो ।

यसअघि एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो । रोहितले युनाइटेड अरब इमिरेटस् (युएई) विरुद्धको एकदिवसीय सिरिजमा उक्त कीर्तिमान बनाएका थिए । त्यसबेला उनी १६ वर्ष १४६ दिनका थिए ।

नेपाल संकटको घडीमा रहेको बेला कुशल ब्याटिङ गर्न आएका हुन् । त्यो बेला नेपालले पाँच विकेट गुमाएर मात्र ४९ रन बनाएको थियो । उनले विनोद भण्डारीसँग मिलेर नेपालको इनिङ सम्हालेका थिए । कुशलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको रेकर्डसमेत तोड्ेका छन् । यसअघि सचिनले टेस्टमा १६ वर्ष २१३ दिन तथा अफ्रिदीले १६ वर्ष २१७ दिनको हुँदा अर्धशतक प्रहार गर्नुभएको थियो ।