७ बैशाख २०८१, शुक्रबार
Follow Us

नर्वेमा ‘नेपाल भ्रमण वर्ष साँझ २०२०’ सम्पन्न

नेपालब्रिटेन डट कम्
२६ माघ २०७६, आईतवार २०:३५

ओस्लो । नर्वेको राजधानी ओस्लोमा ‘नेपाल भ्रमण वर्ष साँझ २०२०’ सम्पन्न भएको छ । भिजिट नेपाल २०२० सचिवालय काठमान्डौ, नेपाल दूतावास डेनमार्क र एनआरएनए एनसीसी नर्वेको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा भिजिट नेपाल २०२० को प्रचारप्रसारमा सक्रिय नेपाली, नर्वेमा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि तथा विभिन्न कालखण्डमा नेपालको विभिन्न क्षेत्रमा योगदान पुर्याएका नर्वेली नागरिकहरूलाई आमन्त्रण गरिएको थियो ।

नोर्डिक देशहरुका लागि नेपालका राजदूत युवानाथ लम्सालले नर्वेमा भिजिट नेपाल २०२० तथा करिब ५० वर्ष अघिको नेपालको तस्बिरहरूको प्रदर्शनीको औपचारिक उद्घाटन गरेका थिए । यसअघि एनआरएनए एनसीसी नर्वे, रागोस नर्वेले विभिन्न कार्यक्रमहरू आयोजना गरि भिजिट नेपाल २०२० प्रचारप्रसार गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै एनआरएनए एनसीसी नर्वेका अध्यक्ष नयन मल्लले प्रचारप्रसारको कार्यक्रम वर्षभरि नै सक्रिय रुपमा गरिने बताए ।

भिजिट नेपाल २०२० सचिवालय काठमाणडौँका कार्यक्रम प्रबन्धक रोहिणी प्रसाद खनालले २०२० भरि नेपालको विभिन्न ठाउँमा आयोजना गरिन लागिएको कार्यक्रमहरूको बारेमा संक्षिप्त प्रस्तुति दिएका थिए । खनालले भ्रमण वर्ष २०२० भरि नेपालस्थित ट्रेक्किंग एजेन्सी, होटेल तथा रेस्टुराँ व्यवसायी तथा विभिन्न संघ संस्थाले १० देखि २० प्रतिशत छुटको व्यवस्था गरेको जानकारी दिएका थिए ।

सन् १९७५ देखि करिब एक दशक नेपाल बसेकी आना होलानले नेपालीमा सम्बोधन गर्दा कार्यक्रममा सहभागी सबैको ध्यान तानेकी थिइन । उनले ७०को दशकको नेपाली समाज र संस्कृति, त्यति बेला काठमाणडौ भीमसेनस्थानमा अवस्थित चित्रकार९परिवारको लोकप्रिय फोटो स्टुडियो, फोटो प्रदर्शनीमा राखिएका तस्बिरहरूको बारेमा कार्यक्रममा उपस्थित सबैलाई जानकारी दिएकी थिइन ।

त्यस्तै ८० को दशकमा नेपाली आकाशमा जहाज उडाएका पाइलट स्टाइन आर्ने फोस्सुमले जहाजबाट देखिने नेपालको मनोरम दृश्यको वर्णन गरेका थिए । त्यस ताका नेपालमा धेरै जहाज दुर्घटना भएपछि नेपालको हवाई यात्रा कसरी सुरक्षित बनाउन सकिन्छ भनि अध्ययन गर्न तथा नेपालमा उडान भर्ने पाइलटलाई तालिम दिनका उनी लागि संयुक्त राष्ट्र संघको तर्फबाट नेपालमा खटिएका थिए ।

त्यस्तै जीवनको विभिन्न कालखण्डमा ६ पटक नेपाल पुगेका दाग नोर्लिले कार्यक्रममा नेपाल भ्रमण गर्दाको आफ्नो अनुभव सुनाएका थिए । नेपालका हिमाली भेगहरूमा नोर्लिले गरेको पदयात्रा देखि ग्रामीण भेगमा मन्दिर जिर्णोद्धारमा गरेको सहयोगका तस्विर देखाउदै उनले भ्रमणसंगै उत्तरदायी पर्यटक पनि बन्न सकिने सन्देश दिएका थिए । नोर्गे नेपाल फोरेनिंगेनको २ कार्यकाल नेतृत्व सम्हालेका तथा सोहि संस्थाले प्रकाशन गर्ने हाम्रो पत्रिकाको पूर्वसम्पादक नोर्लि पहिलो पटक सन् १९८३ मा नेपाल पुगेका थिए ।

लामो समयदेखि नर्वेमा अध्यापन गराउदै आएका प्राध्यापक डा विशाल सिटौलाले नेपाल भ्रमणको एउटा महत्वपुर्ण कारण अध्यात्म, ध्यान र योग पनि रहेको बताए । नोर्डिक देशहरूका लागि नेपालका राजदुत लम्सालले नेपालमा राजनीतिक स्थिरतासंगै आएको परिवर्तनले दुई देशबीचको मित्रता प्रगाढ बन्नुका साथै अध्यागमन लगायत सबै क्षेत्रमा नेपाल भ्रमण गर्नेलाई सहज हुन थालेको बताए । उनले वातावरण मैत्री तथा दिगो पर्यटनमा जोड दिदै औपचारिक कार्यक्रमको समापन गरेका दिए ।

ओस्लोस्थित ब्रुकेटमा आयोजित कार्यक्रममा बारा, सेलरोटी लगायतका नेपाली परिकारहरु चाख्न पाउँदा पाहुनाहरु खुसि देखिन्थे । कार्यक्रममा उपस्थित सबै विदेशी पाहुनाहरुलाई भिजिट नेपाल २०२० को ढाकाको खादाले स्वागत गर्दै नेपालको पर्यटन गन्तव्य सुचिकृत नक्शा, आकर्षक वाल्पपेर, पोस्टकार्ड, नमस्ते नेपालको चेस्टब्याज, २०२०भरि नेपालमा आयोजना हुने विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी समेटिएको पुस्तिका उपहार दिइएको थियो ।

कार्यक्रममा नेपाली कलाकारहरुले नेपालको संस्कृति झल्किने विभिन्न प्रस्तुति पस्केका थिए । नृत्यमास् प्रकाश, स्मिता, र बिना, तबलामास् संस्कृति, बाँसुरीमास् सुरेन्द्र, सारंगीमास् केशब, मादल तथा गायनमास् प्रसिद्ध लोक गायक बिन खातीले विभिन्न प्रस्तुति दिएका थिए । पन्चेबाजाको प्रस्तुतिसंगै कार्यक्रमको अनौपचारिक सत्र सकिएको थियो ।