१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भैसी मर्दा अमेरिकास्थित नेपाली समुदाय शोकमा, राहत संकलन शुरु

नेपालब्रिटेन डट कम्
२६ माघ २०७६, आईतवार २२:४१

वासिंगटन । अमेरिकामा रहेका नेपालीहरुले विभिन्न वहानमा चन्दा संकलन गर्नु अनौठो होइन । नेपालमा सानो तिनो घटना दुर्घटना भएपनि सहयोग भनेर गो फण्डमा गएर हत्त न पत्त एकाउण्ट खोलेर रकम संकलन गर्न एक थरि माहिर भइसकेका छन् । यी सवै विषयलाई समेत ओझेलमा पार्ने गरी मेरिल्याण्डमा रहेका एक समाजका महासचिवको नेपालमा रहेका भाइको गोठमा आगलागीमा परेर भैसीको मृत्यु भएको र उनको सहयोगार्थ रकम संकलन गर्न आफनो ग्रुपमा अनुरोध आएपछि यो विषय आम चासोको विषय वनेको छ ।

अमेरिकाबाट संचालित एक अनलाइनलाई प्राप्त पत्रमा उल्लेख भएअनुसार – यही जनवरी २८,२०२० का दिन विहान हाम्रा समाजका महासचिवको भाइको भैसी गोठमा दैवीय आगलागी हुँदा गोठ र भैसीको मृत्यु भएको हुँदा वहालाई मनकारी भावनाका साथ सहयोग गरी केही मलम लगाउनका लागि यहाँहरु समक्ष विनम्र अनुरोध गर्दछु ।

अमेरिकामा वसेर आफन्तको गोठमा परेको दुर्घटनामा आफै रकम नदिएर समूहमा हार गुहार गर्नु निर्लज्जताको पराकाष्ट हो सोही समाजमा रहेका एक सदस्यले आफनो नाम उल्लेख नगर्ने शर्तमा भने ।

त्यसो त अमेरिकामा रहेका केही समाजसेवाको खोल ओढन उद्दत समूहले नेपालको सडकमा रहेका कुकुरहरुको उपचारको लागि आफूले आग्रह गरेको सहयोग रकममा कसैले चासो नदिएपछि आक्रोश व्यक्त गर्दे सामाजिक सञ्जाल पोतेका थिए ।

आपत विपतको वेला,गम्भिर प्रकृत्तिको रोग लागेको वेला रकम संकलनको लागि हात थाप्नु न्यायोचित हो । तर नेपाली समुदायमा रहेका केही समाजसेवीहरुले विभिन्न वहानामा रकम उठाउने र त्यसको पारदर्शीतामा चासो नदिने भएकाले अमेरिकामा रहेका नेपाली माझ फण्ड रेजिङ्ग कार्यक्रम पेचिलो वन्दै गएको छ ।

– डिसी नेपाल