February 25, 2020

एनआरएन युके राष्ट्रिय मुद्दामा केन्द्रित हुन्छ: अध्यक्ष गुरुङ्ग

  10th February 2020 मा प्रकाशित

लन्डन । गैर आवासीय नेपाली संघ यूकेले नेपाली समूदायाबीचमा अन्तरसंवाद कार्यक्रमको शुरुवात गरेको छ । लन्डनस्थित हिमालयन क्लबमा आइतबार दिउँसो गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको संघसंस्था विभागको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

अन्तरसम्बाद कार्यक्रममा बोल्दै एनआरएन यूकेकी अध्यक्ष पुनम गुरुङ्गले आफूहरुको पहिलो एजेन्डा नै संघसंस्था र समाजसंगको अन्तरक्रिया गर्ने रहेको बताइन ।

भ्रामक समाचारहरुले अन्योलमा पारेको हुँदा त्यस विषयमा आफूले स्पष्ट पार्ने बताउँदै ‘रे होइन कि हो’ भन्ने कुराको निष्कर्षमा पुग्नुपर्ने बताइन । पावर पोइन्टको माध्यमद्वारा आफूहरुले सम्पन्न गरेका कार्यक्रम लगायत भावी कार्यक्रमको बारेमा समेत जानकारी गराएकी थिइन् । बेलायतका विभिन्न स्थानहरुमा आयोजना गरिने यस कार्यक्रमले गैर आवासीय नेपाली संघ र संघसंस्थाबीचको सम्बन्धलाई नजिक पार्न सफल हुने विश्वास रहेको गुरुङ्गले बताइन ।

‘नो मेम्बर फि’ को बारेमा जानकारी गराउंदै युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले एनआरएन फाउन्डेसनको काम अगाडि बढेको बताए ।

विभिन्न व्यक्ति र संस्थाका प्रतिनिधिहरुको जिज्ञासाको बारेमा गुरुङ्गले प्रष्ट पार्दै भनिन, एनआरएनले सानोतिनो मुद्दालाई भन्दा राष्ट्रिय मुद्दालाई लिएर अगाडी बढ्नुपर्ने बताइन ।

एनआरएन आइडी कार्डको बारेमा प्रष्ट पार्दै संघका आइसीसी सदस्य रामशरण सिम्खडाले डिजिटल कार्डको तयारी भैरहेको र निकट भविष्यमा नै मोबाइल एप्स मार्फत विभिन्न सुविधासहितको कार्ड आउने बताए ।

एनआरएनको १५ औं वार्सिकोत्सवको अवसर पारेर सम्पूर्ण अग्रज तथा संघप्रति योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्ने उद्देश्यले आगामी मार्च ५ तारिखका दिन आयोजना गर्न लागिएको कार्यक्रममा उपस्थित हुन समेत सिम्खडाले अनुरोध गरे ।

कार्यक्रममा एनआरएनए मानार्थ परिषद सदस्य बिजन भट्ट, यती नेपाली एसोसियसन यूके, क्याट यूके, एनबिसी यूके, नर्सिङ एसोसियसन यूके, किरांत राई यायोख्या यूके, आदीबासी जनजाती महिला महासंघ यूके, पासापुच यूके, क्याटर एसोसियसन यूके, नेप्लिज सेफ एसोसियसन यूके, धादिङ नुवाकोट समाज यूके, केन्टन सोलिसिटर, बृटिस वल्फेयर सोसाईटी, सृजनशिल नेप्लिज समाज, लायन्स क्लब हेण्डन, देवाचन बुद्दिष्ट सेन्टर, ओयूएनएफ यूके, शेर्पा किदुङ, अर्खखांची समाज यूके, क्षेती समाज यूके, तमुधि लण्डन ईकाई लगायतका संघसंस्थाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य पेश गर्दै संयोजक रोजिना प्रधान राईले संघसंस्था तथा नेपाली समूदायसंगको सहकार्यमा मात्र अगाडी बढ्न सकिने बताउंदै प्राप्त रचनात्मक सल्लाह र सुझावले आफूहरुलाई भावी रणनीति तयार गर्न सहयोग पुग्ने बताइन ।

कार्यक्रममा निर्वाचन प्रक्रिया र एनआरएन परिचयपत्रलाई व्यवस्थित गर्नुपर्ने, आर्थिक पारदर्शिता, नेपाली भाषा साहित्य प्रबर्धन, सामाजिक संजाललाई नियन्त्रण गरिनुपर्नेमा सहभागिहरुले सुझाव दिएका थिए ।

प्रतिक्रिया