April 10, 2020

नेविसंघको महाधिवेशन गराएर मात्र छोड्छु : राजीव ढुंगाना, अध्यक्ष, नेविसंघ

  10th February 2020 मा प्रकाशित

१३ वर्षको उमेर पुग्दा नपुग्दै राजनीतिमा लागेका राजीव ढुंगाना २०४३ सालको चुनावमै सक्रिय थिए । त्यतिखेर प्रजातन्त्रवादी उम्मेदवारलाई जिताउन उनी सक्रिय भएका हुन् । २०४६ सालमा उनी १६ वर्षका थिए । सुनसरीको नेविसंघको जिल्ला सदस्य, २०५१ मा नेविसंघको सुनसरी जिल्ला सचिव र २०५७ सालमा उनी निर्वाचित केन्द्रीय सदस्य भए । उक्त समितिको अध्यक्षमा विश्वप्रकाश शर्मा निर्वाचित भएका थिए । २०६४ सालमा उनी कल्याण गुरुङको अध्यक्षतामा निर्वाचित समितिको कोषाध्यक्ष भए । २०६५ मा प्रदीप पौडेलको समितिमा उपाध्यक्ष थिए । पार्टीको महासमिति सदस्य ढुंगानालाई पार्टीले नेविसंघको तदर्थ समतिको अध्यक्षमा चयन गरेको छ । उनको जिम्मेवारी भनेको ६ महिनाभित्र नेविसंघको महाविधेशन गराउनु हो । के महाधिवेशन गराउन सम्भव छ त ? प्रस्तुत छ, ढुंगानासँग गरिएको कुराकानी :

० नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन गराउने जिम्मेवारीसहित अध्यक्ष बनाइएको छ, अब ६ महिनाभित्र नेविसंघको महाधिवेशन हुन्छ त ? 
– ६ महिनाभित्र नेविसंघको महाधिवेशन हुनुपर्छ भन्ने ढंगले काम गर्छौं । यसमा शंका गर्ने अवस्था नरहोस् भन्ने किसिमले हामी खट्ने छौं । पार्टीले तोकेको समयभित्र महाधिवेशन गराउने मेरो प्रतिबद्धता छ ।

० केन्द्रीय समितिले पूर्णता पाउनै सकिरहेको छैन, जिल्ला अधिवेशन गराउन बाँकी नै छ ?
– केही दिनमै समितिले पूर्णता पाउँछ । किनभने नेताहरूबीच सबै कुरामा सहमति भएको छ । र, महाधिवेशन गर्न चाहने हो भने ६ महिनाको समय पर्याप्त हो । महाधिवेशन नै गर्न नचाहने हो भने त्यो बेग्लै हो । ६ महिनाभित्र तयारीका सबै काम गर्न सकिन्छ ।

० जिल्लाहरूमा अधिवेशन काहीँ पनि भएको छैन नि ?
– केही जिल्लामा जिल्ला अधिवेशन भएका छन् । अरु धेरै जिल्लामा तत्काल जिल्ला अधिवेशन हुने स्थिति छ । केही क्याम्पसमा एकाइ अधिवेशन पनि भएका छन् । त्यसैले महाधिवेशन गर्न चाहने हो भने ६ महिनाभित्र महाधिवेशन गर्न सकिन्छ । खाली नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पार्टीको स्वार्थलाई अर्जुनदृष्टि बनाउन सक्नु प¥यो ।

० तपाईको अध्यक्षतामा बनेको समितिले पूर्णता कहिले पाउँछ त ?
– हप्ता दिनभित्र समितिले पूर्णता पाउँछ भन्ने विश्वास छ ।

० यो समितिमा रहेकाहरूले चुनाव लड्न पाउँदैनन्, हो ?
– यो समितिमा रहेकाहरूले नेविसंघको १२ औं महाधिवेशनमा भाग लिन पाउँदैनन् भन्ने कुरा स्पष्ट छ ।

० तपाईको व्यक्तिगत विषयलाई लिएर नेविसंघ र पार्टीभित्र धेरै विवाद भए, कस्तो लाग्छ ?
– जीवन्त पार्टीमा सानातिना विवाद हुनु स्वाभाविक हो । लाखौं नेता–कार्यकर्ता भएको पार्टीमा विविध विचार हुन्छन् नै । ठूलो विवाद भएको छैन । मेरो नाममा सबै नेताहरूले सहमति जनाएका हुन् । सबै नेताहरूको सहमति भएपछि मात्र नाम घोषणा भएको हो । पार्टी सभपातिज्यूसँग भएको छलफलमा पार्टीभित्रका सबैथरी नेताहरू उपस्थिति भएर उहाँहरूले सहमति जनाउनु भएको हो । मेरो नाममा केही विवाद छैन । जति विवाद बाहिर आए अरु विषयमा आएका हुन् ।

० ३२ वर्षे विधान लागू हुनुपर्छ भनेर पार्टी कार्यालयमा तोडफोड भयो । कुटाकुट नै भयो तैपनि तपाई विवाद छैन भन्नु हुन्छ ?
– त्यो विवाद मेरो नाममा भएको होइन । विधानलाई कसरी बुझ्ने भन्ने विषयमा विवाद भएको हो । हाम्रो विधानले १२ आंै महाधिवेशनदेखि ३२ वर्ष उमेरहद लागू हुनेछ भनेको छ । तर उहाँहरूले विधानमा लेखिएपछि अहिलेदेखि नै ३२ वर्ष उमेरहद लागू गरौं भन्नुभएको हो । त्यसैले विधानलाई कसरी बुभ्mने भन्ने सवालमा फरक धारणा भएको हो । अरु विषय यसमा जोडिँदैन ।

०  तपाईको हकमा मात्र ३२ वर्ष उमेरहद लागेन भन्ने उहाँहरूको भनाइ छ नि ?
– नेविसंघको महाधिवेशन गर्ने विशेष अवस्थामा म नेतृत्वमा आएको हुँ । मेरो नेतृत्वमा बनेको तदर्थ समिति भनेको ११औं महाधिवेशनको निरन्तरता हो । ११औं महाधिवेशनमा नैनसिंह महरको अध्यक्षतामा समिति निर्वाचित भएको थियो । उक्त समितिले विभिन्न कारण देखाई महाधिवेशन गराउन सकेन । त्यसलाई प्रतिस्थापना गर्न मेरो अध्यक्षतामा समिति बनाइएको हो । हाम्रो विधानले स्पष्ट रूपमा ३२ वर्ष उमेरको हद आगामी १२औं महाधिवेशनदेखि लागू हुने छ भनेको छ । त्यसैले मेरो नाममा केही विवाद छैन, यो झगडालुहरूको बहाना मात्र हो ।

० तैपनि उमेरको कुरा उठाइएको छ नि ?
– भन्नेले त ४८ वर्ष मात्र होइन, राजीव ढुंगाना ५१÷५२ वर्ष उमेरको हो भनेका छन् । तर वास्तवमा मेरो उमेर ४६ वर्ष हो । सबैतिर मेरो एउटै उमेर छ । जन्मकुण्डली, नागरिकतामा, शैक्षिक प्रमाणपत्र सबै ठाउँमा मेरो उमेर ४६ वर्ष छ । यो विषय किन उछालिँदैछ ? मैले पनि बुझेको छैन । असली नेविसंघबाट उठाइएको विषय हो कि अखिलबाट प्रायोजितहरूले उठाएको विषय हो ? अनुसन्धान गर्न आवश्यक छ । किनभने म मेरो चाहनाले नेतृत्वमा आएको होइन, नेविसंघभित्र विशेष परिस्थिति आएकाले मलाई नेतृत्वमा ल्याइएको हो ।

० तर पनि यस विषयमा कुरा उठाइयो नि ?
– हेर्नुहोस् पार्टीभित्र विभिन्न नेताको विभिन्न कुरा हुन्छन्, इन्ट्रेस हुन्छ । कसैलाई कुनै व्यक्ति ल्याउनु परेको होला, कसैले कुनै व्यक्ति मन पराएका होला । अहिले सामाजिक सञ्जालको कारणबाट हरेक व्यक्तिको मिडियामा पहुँच छ । सामाजिक सञ्जाल व्यक्तिगत मिडिया भएको छ । जसलाई जे मन लाग्यो त्यो बोल्ने स्थिति छ, भन्ने स्थिति छ । त्यसैले सामान्य कुरा पनि गलत ढंगबाट आउने गरेका छन् । यत्रो ठूलो संगठनमा विविध विचार हुनु स्वाभाविक छ ।

० तपाई पार्टीबाट टीका लगाएर अध्यक्ष हुनुभयो नि, यसरी टीका लगाउनु ठिक हो त ?
– हेर्नुहोस्, नैनसिंह महरको अध्यक्षतामा निर्वाचित समितिले महाधिवेशन गराउन नसकेपछि पार्टीले जसलाई जिम्मेवारी दिए पनि त्यो टीका लगाएरै दिइने हो । जो नेतृत्वमा आए पनि तपाईको बनिबनाउँ प्रश्न यही हुने हो । संगठनको विगत र वर्तमान हेरेर नेताहरूले निर्णय लिनुभएको हो । पार्टीले जसलाई छाने पनि यही माध्यमबाट छान्ने हो । मलाई दिँदा टीका लगाएको हुने, अरुलाई दिँदा टीका लगाएको नहुने भन्न त होइन होला नि ।

० अरु मनोनीत पनि भागबन्डाबाटै त हुन्छ नि, होइन ?
– पावर सेयरिङ भन्नु ठिक होला । पार्टीलाई सहमति र सहकार्यमा हिँडाउन यो अवश्यक पनि छ । पार्टीमा आन्तरिक रूपमा सबैलाई मिलाउनुपर्ने हुन्छ । पार्टीभित्र विभिन्न खाले विचारहरूको प्रतिनिधित्व गराउनुपर्ने हुन्छ । यो भनेको सबैलाई प्रतिनिधित्व गराउने कुरा हो, भागबन्डा भन्ने होइन । त्यसैले यो नराम्रो पनि होइन । दलीय व्यवस्था भनेको निरंकुशता होइन, बुझिराख्नुस् ।

० तर तदर्थ समिति नै यति ठूलो संख्यामा बानाउन आवश्यक थियो त ?
– हाम्रो जिम्मेवारी १२ औ महाधिवेशन सम्पन्न गराउने हो, तर महाधिवेशन सम्पन्न गराउने जिम्मेवारी लिँदै गर्दा हामीसँग अरु ठूलो जिम्मेवारी पनि छन् । व्यक्तिको वाक् स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गर्न खोजिरहेको छ, त्यसप्रति सचेत रहँदै आन्दोलन गर्नुपर्ने अवस्था आएको छ । आगामी महिना स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हँुदै छ । स्ववियुको निर्वाचनमा सहभागी भएर देशभर नेविसंघलाई जिताउनु छ । अर्कोतिर शैक्षिक मुद्दालाई लिएर गरिने आन्दोलनलाई निरन्तरता दिनु छ । वर्तमान सरकार जनविरोधी क्रियाकलापमा लिप्त छ । सर्वसत्तावादतर्फ उन्मुख छ । त्यसमा सरकारलाई खबरदारी गर्नुपर्ने छ । त्यसैले यस काममा यति संख्यामा तदर्थ समिति बनाउनु आवश्यक छ । लाखौं विद्यार्थी आबद्ध भएको संगठनमा एक डेढ सयको कार्यसमिति बन्नु स्वाभाविक हो ।

०  भागबन्डा मिलाउन ठूलो संख्या बनाइएको होइन ?
– त्यस्तो होइन, यो आवश्यकता हो । तपाई संख्यामा नजानुस्, यो प्राविधिक कुरा हो । नीतिगत रूपमा प्रतिस्पर्धी संगठनहरूको आकारप्रकार हेर्नुस् अनि मलाई भन्नुस् ।

० महाधिवेशनमा चुनाव नै गराउनुन्छ कि सहमतिबाट नयाँ नेतृत्व ल्याउनुहुन्छ ?
– १२औं महाधिवेशनमा चुनाव गराएर ३२ वर्षभन्दा मुनिकालाई नेतृत्व हस्तान्तरण गर्नेछु । मेरो समितिको उद्देश्य भनेको ३२ वर्षमुनिकालाई नेतृत्व दिनु हो । केन्द्रदेखि क्याम्पस, जिल्ला, प्लस टु, माविसम्म सबै ठाउँमा ३२ वर्षभन्दा मुनिकोलाई नै नेतृत्वमा स्थापित गराउने काममा लाग्ने मेरो जिम्मेवारी हो । त्यो काम पूरा गर्न म प्रतिबद्ध छु । चुनावबाटै नेतृत्व हस्तान्तरण गरेर बिदा लिन्छु ।

० महाधिवेशनको मिति कहिले तोक्नुहुन्छ ?
– समितिले पूर्णता पाएपछि समितिको बैठक बस्छ । उक्त बैठकले महाधिवेशनको मिति तय गर्छ, शैक्षिक क्षेत्रमा देखिएको विसंगति र विकृतिलगायत संघर्षका एजेन्डा तय गर्छ । हामीले तय गर्ने एजेन्डाले विद्यार्थीहरूलाई एकीकृत गर्छ । स्कुल, कलेजलाई वर्गीकरण गर्दै प्रत्यक स्कुल, उच्च मावि र कलेजको समस्या केलाउनु छ । यो जटिल काममा हामी लाग्छौं र आगामी शिक्षा कस्तो हुनुपर्छ भन्ने नीति विद्यार्थी संगठनहरूले बनाउन आवश्यक छ ।

० नेविसंघलाई पार्टीले हस्तक्षेप गरी तदर्थ समिति बनाएको छ, यसरी पार्टीले हस्तक्षेप गर्न मिल्छ ?
– नेविसंघ पार्टीको भ्रातृसंगठन हो । यो लुकेको विषय होइन, पञ्चायतकालमै घोषित विषय हो । विधानमै नेविसंघको अधिवेशन दुई वर्षभित्र गर्नुपर्ने हो । दुई वर्षभित्र महाधिवेशन गर्न नसके अरु तीन महिना तयारीका लागि पाइने छ । त्यति समयभित्र पनि नभए समिति स्वतः भंग हुने छ भनिएको छ । समिति भंग भएपछि पार्टीले आवश्यक व्यवस्था गर्ने छ भनी विधानमै भनिएको छ । त्यसैले यो सबै विधानसम्मत ढंगबाट भएको छ ।

० तपाईलाई नै पार्टीले नेतृत्वमा किन छान्यो होला ?
– म आफूलाई विशेष खुबी भएको मान्छे हुँ भन्दिनँ । तर म इमानदारीपूर्वक निरन्तर विद्यार्थी आन्दोलनमा लागेको व्यक्ति हुँ । ‘भोलि यसले यो जिम्मेवारी पूरा गर्छ । पार्टीसँग पनि समन्वय गर्न सक्छ र विद्यार्थीहरूलाई पनि एक ठाउँमा ल्याउन सक्छ’ भनेर नेताहरूले मलाई विश्वास गरेको हुन सक्छ ।

प्रतिक्रिया